आफैँले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारी नगरका उपप्रमुखको मृत्यु
थानकोट ।
प्युठानको स्वर्गद्धारी नगरपालिकाका उपप्रमुख मिनराज रानामगरको गाडी दुर्घटनामा परेर मृत्यु भएको छ ।
दुर्घटनामा ५० वर्षीय उपप्रमुख रानामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक गणेश ज्ञवालीले जानकारी दिए ।
अप्ठ्यारो भौगोलिक अवस्थाका कारण करिब साढे दुई घण्टापछि उनलाई अचेत अवस्थामा उद्धार गरिएको थियो । उपचारका लागि स्थानीय अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रहरी निरीक्षक ज्ञवालीले दुर्घटनास्थल निकै अप्ठ्यारो भएकाले उद्धार कार्यमा कठिनाइ भएको जानकारी दिए ।
स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गर्दा शनिबार बेलुकी पौने ५ बजेतिर उपप्रमुख मगर आफैँले चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी– २ बाङ्गेसालमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । दुर्घटनाग्रस्त गाडी सडकदेखि करिब ४०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गाडीमा उनी एक्लै सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन ।
उनी ३० वैशाख २०७९ मा भएको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका थिए ।










