डा. चेतना पौडेल पक्राउ प्रकरण: योग तथा प्राकृतिक चिकित्सक संघ नेपालको आपत्ति (खण्डनसहित)
थानकोट ।
चन्द्रागिरि नगरपालिकास्थित स्पार्क हेल्थ एण्ड रिसोर्टमा कार्यरत चिकित्सक डा. चेतना पौडेल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) द्वारा पक्राउ परेको प्रकरणमा योग तथा प्राकृतिक चिकित्सक संघ नेपालले विज्ञप्ति जारी गर्दै उनको चिकित्सकीय अभ्यास अध्ययन, योग्यता र कानुनी सीमाभित्र रहेको दाबी गरेको छ।
डा. पौडेललाई असार ९ गते पक्राउ गरिएको थियो। प्रहरीले उनीमाथि गैरकानुनी रूपमा चिकित्सकीय अभ्यास गरेको आरोप लगाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार नेपाल मेडिकल काउन्सिलको प्रतिवेदनका आधारमा पक्राउ गरी हाल थप अनुसन्धान भइरहेको छ।
संघले भने डा. पौडेल गैरचिकित्सक नभई प्राकृतिक चिकित्सक रहेको दाबी गरेको छ। उनका अनुसार उनले भारतको राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तर्गत अध्ययन पूरा गरेकी हुन् र प्राकृतिक चिकित्सा तथा योग विज्ञान सम्बन्धी अध्ययन भारतका धेरै विश्वविद्यालयमा सञ्चालन हुँदै आएको उल्लेख गरिएको छ। संघले उनी भारतको केन्द्रीय योग तथा प्राकृतिक चिकित्सा अनुसन्धान परिषदसँग समेत सम्बन्धित रहेको दाबी गरेको छ।
संघका अनुसार नेपालमा प्राकृतिक चिकित्सा तथा वैकल्पिक उपचारका लागि छुट्टै परिषद् नभएकाले नेपाल स्वास्थ्य व्यवसायी परिषद बाट अनुमति लिएर अभ्यास गर्ने व्यवस्था रहेको छ र डा. पौडेलले सोही प्रक्रिया पूरा गरेको दाबी गरिएको छ। साथै उनको शैक्षिक योग्यताको समकक्षता त्रिभुवन विश्वविद्यालय बाट भएको र बीएनवाइएस अध्ययन पूरा गरेपछि विश्वविद्यालयले ‘डा.’ उपाधि प्रयोग गर्न दिने अभ्यास रहेको उल्लेख गरिएको छ।
संघले प्राकृतिक चिकित्सकलाई प्रारम्भिक स्वास्थ्य मूल्याङ्कन, प्रयोगशाला परीक्षण तथा स्वास्थ्यसम्बन्धी प्रतिवेदन अध्ययन गर्ने अधिकार आचारसंहिता र सम्बन्धित व्यावसायिक प्रावधानले दिएको दाबी गरेको छ। साथै विश्व स्वास्थ्य संगठनले वैकल्पिक उपचार प्रणालीलाई मान्यता दिएको सन्दर्भ उल्लेख गर्दै प्राकृतिक चिकित्सा अभ्यासलाई अवैधानिक भन्न नमिल्ने तर्क प्रस्तुत गरेको छ।
यसैबीच भारतस्थित भारतीय प्राकृतिक चिकित्सा संघले पनि विज्ञप्ति जारी गर्दै डा. पौडेल दक्ष र वैधानिक प्राकृतिक चिकित्सक रहेको दाबी गरेको छ। संस्थाले उनले अध्ययन गरेको विश्वविद्यालय, प्राप्त गरेको योग्यता र पेशागत अभ्यासलाई औपचारिक आधार प्राप्त रहेको जनाएको छ।
उता स्पार्क हेल्थ एण्ड रिसोर्टसँग आबद्ध डा. चेतनाका पति डा. सुनिल पौडेल ले यो कारबाही प्रतिसोधपूर्ण भएको आरोप लगाएका छन्। उनले डा. पौडेलले आफ्नो अधिकार क्षेत्रभित्र रहेर मात्र अभ्यास गरेको र एलोपेथिक औषधि सिफारिस गरेको आरोप सही नभएको दाबी गरे। उनका अनुसार दीर्घरोगी बिरामीको पूर्व उपचार विवरण अभिलेखमा समावेश हुनु र एकीकृत उपचार प्रणालीअन्तर्गत केही सिफारिस हुनु स्वाभाविक प्रक्रिया हो।
यता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता डा. अनुपम समशेर जवराका अनुसार नेपाल मेडिकल काउन्सिलको समन्वय र अनुसन्धानपछि मात्रै कारबाही अघि बढाइएको हो। अनुसन्धानका क्रममा एलोपेथिक चिकित्सकले गर्ने प्रकृतिका सेवा तथा औषधि सिफारिस गरिएको देखिएपछि कानुनी प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।
यस प्रकरणले नेपालमा प्राकृतिक चिकित्सा, वैकल्पिक उपचार प्रणाली, पेशागत अधिकार क्षेत्र र नियामक संरचनाबारे नयाँ बहस सुरु गराएको छ।










