साइबर ब्यूरो ७९ प्रकरणः सतुङ्गलका आरोपितविरुद्ध अभियोग पत्र दायर
थानकोट ।
सामाजिक सञ्जाल फेसबुकमार्फत अमर्यादित टिप्पणी गरी चरित्रहत्या गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा ६१ वर्षीय पुरुषविरुद्ध अभियोग पत्र दायर गरिएको छ ।
काठमाडौं जिल्ला सरकारी वकील कार्यालयले चन्द्रागिरि नगरपालिका सतुङ्गल बस्ने ती पुरुषविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दायर गरेको हो ।
सरकारी वकील कार्यालयले ती अभियुक्तलाई ५ वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिबाना अथवा दुवै सजाय गर्न मागदाबी गरेको छ ।
घटनाको विवरण मिसिलमा उल्लेख भएअनुसार, फेसबुकको एउटा ग्रुपमा रवि लामिछाने, गगन थापा र पीडितको फोटोसहित पोष्ट गरिएको एक सामग्रीमा प्रतिवादीले अत्यन्तै अश्लील र अपमानजनक शब्द प्रयोग गरी कमेन्ट गरेका थिए । उक्त कमेन्टले आफ्नो चरित्रहत्या भएको, घृणा द्वेष फैलाएको र मानसिक यातना दिएको भन्दै पीडित (परिवर्तित नामः साइबर ब्यूरो ७९) ले कारबाही र क्षतिपूर्तिको माग गर्दै जाहेरी दिएकी थिइन् ।
पीडितको जाहेरी र प्राविधिक अनुसन्धानका आधारमा प्रहरीले ती आरोपितलाई सतुङ्गलबाट नियन्त्रणमा लिएको अभियोगपत्रमा उल्लेख छ ।
प्रतिवादीको बयान र कसुर सावितीप्रहरी र सरकारी वकीलसमक्ष दण्डित पुरुषले आफूले उक्त फेसबुक पोष्टमा कमेन्ट गरेको स्वीकार गरेका छन् । उनले बयानका क्रममा भनेका छन्, ‘घरमा श्रीमतीसँग दिनहुँ झगडा हुने भएकाले मानसिक तनावमा थिएँ । रुखको छहारीमुनि बसी फेसबुक चलाउने क्रममा उक्त पोष्ट देखेपछि मैले पनि लेख्दा के फरक पर्ला र भनी सोचेर उक्त कमेन्ट गरेको हुँ ।’
सहायक जिल्ला न्यायाधिवक्ता सुनिता भट्टराईद्वारा दायर गरिएको अभियोग पत्रमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम कसुर पुष्टि भएको उल्लेख छ । उक्त दफा अनुसार सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने र अपमान गर्नेलाई १ लाख रुपैयाँसम्म जरिबाना, ५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
यसका साथै ऐनको दफा ५८ (क) र ७६ बमोजिम पीडितलाई पुग्न गएको मानसिक तनाव र हानी नोक्सानीको उचित मूल्याङ्कन गरी मनासिब क्षतिपूर्ति भराउन तथा अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउन समेत अदालत समक्ष माग गरिएको छ ।









