एकदिवसीय अभ्यास खेल: जर्सीविरुद्ध नेपालको सहज जित
थानकोट ।
नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा ८१ रनको जित दर्ता गरेको छ । सोमबार ग्रानभिलमा नेपालले प्रस्तुत गरेको २५१ रनको लक्ष्य पछ्याएको घरेलु टोली जर्सी ४१ ओभरमा १६९ रनमा समेटियो ।
जर्सीका चार्ली ब्रेनन ८२ रनमा अविजित रहे । डानियल बिरेलले ४१ रन बनाए ।
नेपालका हेमन्त धामीले सर्वाधिक चार विकेट लिए । आरिफ शेखले तीन, करण केसीले दुई तथा सन्दीप लामिछानेले एक विकेट हात पारे ।
त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २५० रनको योगफल तयार पारेको थियो ।
नेपाल ३१औँ ओभरमा १५८–२ को अवस्थामा रहँदा वर्षाका कारण करिब डेढ घण्टा खेल रोकिएको थियो । तर, खेल ओभर नघटाइ पुनः सुरु भएको थियो ।
नेपालका कुशल भुर्तेल सर्वाधिक १०५ रनको योगदान गरे । उनले ११७ बल खेल्दै १३ चौका प्रहार गरे । भीम सार्कीले ३९, हेमन्त धामीले १९, आसिफ शेखले १६, कप्तान रेहितकुमार पौडेलले १५, करण केसी र सन्दीप लामिछानेले १३/१३ तथा आरिफ शेखले ११ रन बनाए ।
जर्सीका डानियल बिरेल, बेन्जामिन वार्ड र निक ग्रीनउडले दुई/दुई विकेट लिँदा जर्ज रिचार्डसन र चाल्र्स पर्चार्डको नाममा एक विकेट रह्यो ।
शृंखलाको दोस्रो तथा अन्तिम खेल बुधबार हुनेछ ।
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आगामी त्रिकोणात्मक एकदिवसीय शृंखलाको तयारीस्वरुप जर्सीसँग अभ्यास खेल खेलेको हो ।
नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित शृंखला जुलाई २१ देखि सुरु हुँदै छ ।









