चारजना मन्त्रीले दिए राजीनामा
थानकोट ।
कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चारजना मन्त्रीले राजीनामा दिएका छन् ।
नेपाली कांग्रेस स्रोतका अनुसार नेकपा (एमाले) र नेपाली कांग्रेसबीच सरकार गठनका क्रममा भएको मौखिक सहमति मुख्यमन्त्री यामलाल कँडेलले कार्यान्वयन नगरेको भन्दै उनीहरूले पदबाट राजीनामा दिएका हुन् ।
राजीनामा दिने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजय बुढा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी रहेका छन् ।
स्रोतका अनुसार एमाले र कांग्रेसबीच भएको सहमतिअनुसार निश्चित अवधिपछि सरकारको नेतृत्व नेपाली कांग्रेसलाई हस्तान्तरण गर्ने समझदारी भएको थियो । तर, उक्त सहमति कार्यान्वयन नभएपछि कांग्रेसले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह हाल उपचारका लागि थाइल्यान्डको बैंककमा छन् । उपचारका लागि विदेश जानुअघि नै उनले आफ्नो राजीनामा पत्र तयार गरी छाडेर गएको स्रोतले जनाएको छ ।
नेपाली कांग्रेसले अब गठबन्धनको सहमतिअनुसार कर्णाली प्रदेश सरकारको नेतृत्व आफ्नो दलले पाउनुपर्ने अडान कायम राखेको छ । सोही निर्णयअनुसार सरकारमा रहेका कांग्रेसका सबै मन्त्रीले राजीनामा बुझाएका हुन् ।
मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारमा नेपाली कांग्रेस २०८१ साल साउन २० गते सहभागी भएको थियो । त्यसयता एमाले र कांग्रेसको संयुक्त सरकार सञ्चालन हुँदै आएको थियो ।
सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले भने कांग्रेसका मन्त्रीहरूको राजीनामाबारे आफूलाई औपचारिक जानकारी नभएको प्रतिक्रिया दिए । उनले यस विषयमा थप टिप्पणी गर्न चाहेनन् ।
नेपाली कांग्रेसका कर्णाली प्रदेशसभा सदस्य वेदराज सिंहले पार्टीभित्र भएको छलफल र निर्णयका आधारमा मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएको बताए । उनले गठबन्धनका बेला भएको सहमति कार्यान्वयन हुनुपर्ने पार्टीको स्पष्ट अडान रहेको पनि बताए ।
कांग्रेसका मन्त्रीहरूको राजीनामासँगै कर्णाली प्रदेशको सत्ता समीकरण फेरिने संकेत देखिएको छ ।









