बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय, ६ जना मन्त्री पदमुक्त हुँदै

Thankot Times

थानकोट ।

बागमती प्रदेशमा नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै मन्त्रालयको संख्या ८ कायम गरिएको छ ।

सरकारले प्रदेशमा रहेको १४ मन्त्रालयलाई घटाएर ८ कायम गर्ने यसअघिको निर्णय कार्यान्वयन गरिएको हो ।

गत २२ वैशाखमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ८ वटा मन्त्रालय मात्रै रहने व्यवस्था आजदेखि लागू भएको हो ।

सोही अनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रालय अनुसारको कार्यविभाजन गर्ने तयारी गरेका छन् ।

उनले प्रदेशका ६ मन्त्रीको व्यवस्थापनसहित कार्यविभाजन गर्ने सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए ।

जसअनुसार आजबाट बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय,  खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय कायम रहने छन् ।

हाल बागमती प्रदेश सरकारमा मुख्यमन्त्रीसहित १४ वटा मन्त्रालय छन् ।

१४ मन्त्रालय हुँदा काँग्रेसले मुख्यमन्त्रीसहित ८ र एमालेले ६ मन्त्रालयको जिम्मेवारी लिएको छ ।

मन्त्रालयको संख्या ८ मा झर्दा दुवै सत्ता साझेदार दलले आफ्ना ६ जना मन्त्री फिर्ता बोलाउनुपर्ने हुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *