साउनको पहिलो सोमबार चन्द्रागिरिका शिवालयहरूमा बिहानैदेखि भक्तजनको धुइरो
थानकोट ।
साउन महिनाको पहिलो सोमबारका अवसरमा चन्द्रागिरि नगर क्षेत्रका शिवालयहरूमा पनि बिहानैदेखि श्रद्धालु भक्तजनको उल्लेख्य घुइँचो लागेको छ ।
हिन्दु धर्मअनुसार साउन महिना भगवान् शिवलाई समर्पित मानिन्छ ।
विशेषगरी सोमबार शिवको प्रिय बार भएकाले यस दिन व्रत बस्ने, शुद्ध जल, दूध तथा बेलपत्र चढाउने परम्परा रहिआएको छ ।
धार्मिक विश्वासअनुसार साउनको सोमबार श्रद्धापूर्वक पूजा गरेमा मनोकामना पूरा हुने, पारिवारिक सुख–समृद्धि प्राप्त हुने तथा दाम्पत्य जीवनमा अटल सौभाग्य मिल्ने मान्यता छ ।
यस अवसरमा चन्द्रागिरि नगरका चन्दनभराटेश्वर महादेव मन्दिर, गोलोकेश्वर महादेव मन्दिर, मातुलेश्वर महादेव, भालेश्वर महादेव लगायतका शिवालयहरूमा भक्तजनहरूको भीड लागेको हो ।










