विश्व फुटबलको महाकुम्भ सम्पन्न, स्पेन सर्वश्रेष्ठ, चार वर्षपछि तीन महादेशमा प्रतियोगिता हुने

Thankot Times

थानकोट ।

प्रतिस्पर्धात्मक खेलको १०६ औं मिनेटमा फेरान टोरेसले गरेको एक मात्र गोल युरोपेली फुटबलको पावरहाउस स्पेनलाई फिफा विश्वकप २०२६ को उपाधि चुमाउन पर्याप्त बनेको छ ।

स्पेन १६ वर्षपछि पुन: फिफा विश्वकपको च्याम्पियन बनेको हो ।

सोमबार बिहान अमेरिकाको न्यु योर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गरेर स्पेन विश्व च्याम्पियन बनेको हो ।

खेलको निर्धारित ९० मिनेटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित बनेको थियो । सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले गोलअन्तरले पराजित गर्दै विश्वकपको फाइनल यात्रा तय गरेको  थियो ।

स्पेनले फ्रान्सलाई २–० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको थियो । टोरेसले गरेको एउटै गोल नै स्पेनलाई ऐतिहासिक जित दिलाउन पर्याप्त बन्यो । पूरै खेलभर बल नियन्त्रण, पास आदानप्रदान र अवसर सिर्जनामा स्पेन हावी देखिएको थियो । खेलको अन्त्यतिर अर्जेन्टिना १० खेलाडीमा सीमित भएपछि पनि स्पेनले धैर्य कायम राख्दै अग्रता जोगायो ।

यो सँगै प्रशिक्षक लुइस दे ला फुएन्तेले दुई वर्षअघि युरोकप जिताएपछि अब विश्वकप पनि जिताउँदै स्पेनी फुटबलको नयाँ स्वर्णिम युगको नेतृत्व गरेका छन् ।

युवा र अनुभवी खेलाडीको सन्तुलित टोली निर्माण गरेका उनले स्पेनलाई लगातार ठूला प्रतियोगितामा सफलता दिलाएका हुन् । उपाधि जितेपछि प्रशिक्षक दे ला फुएन्तेले यो सफलता सम्पूर्ण टोली, युवा पुस्ता र स्पेनी फुटबलको दीर्घकालीन योजनाको परिणाम भएको प्रतिक्रिया दिएका छन् ।

फाइनलमा पराजित भएसँगै अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको अर्को विश्वकप उपाधि जित्ने सपना अधुरै रह्यो ।

उपाधि वितरण समारोहमा मेस्सी भावुक बनेका दृश्यहरूले समर्थकलाई समेत भावुक बनाएको थियो ।

सन् २०३० को विश्वकप शुरु हुँदा मेस्सी ४२ वर्षका हुने भएकाले यो उनको अन्तिम विश्वकप हुन सक्ने अनुमान गरिएको छ ।


फिफा विश्वकप सन २०२६ मा स्पेनले टोलीगत सफलतासँगै अधिकांश व्यक्तिगत अवार्ड पनि आफ्नो नाममा पार्दै विश्व फुटबलमा दबदबा कायम गरेको छ । विश्वकपको गोल्डेन बल (सर्वोत्कृष्ट खेलाडी) स्पेनका मिडफिल्डर रोड्रीले जिते ।

उनले प्रतियोगिताभर उत्कृष्ट नेतृत्व, खेल नियन्त्रण र निरन्तर प्रदर्शनका आधारमा अर्जेन्टिनाका लियोनेल मेस्सी र फ्रान्सका किलियन एम्बाप्पेलाई पछि पार्दै यो प्रतिष्ठित सम्मान हात पारे ।

यस्तै गोल्डेन बुट (सर्वाधिक गोलकर्ता) फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेले जिते । उनले प्रतियोगिताभर १० गोल गर्दै सर्वाधिक गोलकर्ताको रूपमा गोल्डेन बुट आफ्नो नाममा लेखाए ।

गोल्डेन ग्लोभ (सर्वोत्कृष्ट गोलरक्षक) स्पेनका उनाई सिमोनलाई प्रदान गरियो । प्रतियोगिताभर निर्णायक बचाउ गर्दै उनले स्पेनलाई विश्वविजेता बनाउन महत्वपूर्ण भूमिका खेले ।

सर्वोत्कृष्ट युवा खेलाडी (बेस्ट यङ प्लेयर) को अवार्ड स्पेनका १९ वर्षीय डिफेन्डर पाउ कुबार्सी ले जिते । युवा उमेरमै उत्कृष्ट र परिपक्व प्रदर्शन गर्दै उनले प्रतियोगिताका उत्कृष्ट उदाउँदा खेलाडीको सम्मान प्राप्त गरे ।

यस्तै, फेयर प्ले ट्रफी (अनुशासित टोली) स्पेनले नै जित्यो । यससँगै टोलीगत उपाधि, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट युवा खेलाडी र फेयर प्ले अवार्ड गरी स्पेनले विश्वकपका अधिकांश प्रमुख सम्मान आफ्नो पक्षमा पार्न सफल भयो ।


२०३० को विश्वकप ६ देशमा हुने भएको छ ।

फिफाले स्पेन, पोर्चुगल, मोरक्कोलाई ७ वर्षपछि हुने प्रतियोगिताको सहआयोजक छनोट गरेको हो ।

उरुग्वे, अर्जेन्टिना र पारग्वेले पनि विश्वकप आयोजनाका लागि दाबी गरेका थिए । तर तीन देशलाई सुरुवातको खेल आयोजनाको जिम्मा दिइएको छ । त्यसपछि बाँकी खेल स्पेन, पार्चुगल र मोरक्कोमा हुने फिफा अध्यक्षले जानकारी दिएका छन् ।

यसअनुसार विश्वकप २०३० का खेल तीन महादेशका ६ देशमा हुनेछ ।

तस्बिरः एएफपी


Leave a Reply

Your email address will not be published. Required fields are marked *