संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै
थानकोट ।
संघीय संसद संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसद भवनमा बस्ने भएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने सो बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा प्राप्त उजुरीका विषय, प्रस्तावित व्यक्तिहरूले पेस गरेको कार्ययोजना वितरण गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।
गत १९ असारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्त गर्न सिफारिस गरेको थियो ।
सोही बैठकले निर्वाचन आयुक्त पदमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
संसदीय समितिबाट प्रस्तावित ती पदहरूको नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक प्रावधान रहेको छ ।










