संस्थाको २५ वर्षे इतिहासमा चन्द्रागिरि सहकारीको पहिलो पत्रकार सम्मेलन (भिडियो)
थानकोट ।
थानकोट चेकपोष्टस्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.ले हालै विश्व ऋण परिषद् (ओकू) बाट प्राप्त डिजिटल ग्रोथ अवार्डले संस्थाको अन्तर्राष्ट्रिय पहिचान स्थापित गरेको दाबी गरेको छ ।
नेपालमा सहकारीको छविमाथि गम्भीर प्रश्नहरु उठिरहेको र कतिपय सन्दर्भमा गलत भाष्यहरु निर्माण गरिएको परिप्रेक्ष्यमा विश्वस्तरीय मञ्चबाट पुरस्कार प्राप्त गर्नु केवल साकोसको लागि मात्र नभई मुलुककै सहकारी अभियानको लागि महत्वपूर्ण उपलब्धि भएको चन्द्रागिरि साकोसले जनाएको छ ।
बचत तथा ऋण सहकारीहरुको विश्वस्तरीय मञ्चमा डिजिटल रुपान्तरणको क्षेत्रमा गरेको योगदानस्वरुप नेपालको समग्र बचत तथा ऋण सहकारीको प्रतिनिधित्व गर्दै पुरस्कृत हुन पाउनु गौरवको विषय भएको चन्द्रागिरि साकोसले बताएको छ ।
अन्तर्राष्ट्रिय क्रेडिट युनियन सम्मेलन २०२६ को अवसरमा अष्ट्रेलियाको सिड्नीमा जुलाई २१ मा आयोजित ओकूको वार्षिक साधारण सभाका क्रममा चन्द्रागिरि साकोसलाई डिजिटल ग्रोथ अवार्ड २०२६ वाट पुरस्कृत गरिएको थियो । प्रविधिको प्रभावकारी उपयोग, डिजिटल वित्तीय समावेशीकरण एवम् बिस्तार तथा नविन डिजिटल सेवाहरुको विकासमा संस्थाले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै ओकूले चन्द्रागिरि साकोसलाई उक्त सम्मान प्रदान गरेको थियो । ओकूबाट नेपाली बचत तथा ऋण सहकारी अभियानले प्राप्त गरेको यो नै पहिलो सम्मान हो ।
सोही उपलब्धिबारे जानकारी गराउन एवम् प्रविधिसँगै सम्बन्धित दुई नयाँ प्रडक्ट लञ्च गर्न सोमबार (साउन १८ गते) आयोजित पत्रकार भेटघाट कार्यक्रममा संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले भने, ‘ओकूबाट प्राप्त डिजिटल ग्रोथ अवार्ड २०२६ ले चन्द्रागिरि साकोसको डिजिटल रुपान्तरणको यात्रालाई अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्नुका साथै नेपालको समग्र बचत तथा ऋण सहकारी अभियानको प्रतिष्ठा अभिवृद्धि गरेको विश्वास गरेका छौं ।’
अध्यक्ष मानन्धरको भनाइ भिडियोमा हेराैं
उनले उक्त विश्वस्तरीय सम्मानलाई संस्थाको विगतको सफलताको उत्सवका रुपमा मात्र नलिइ भविष्यप्रतिको थप उत्तरदायित्वको रुपमा लिएको बताए । परम्परा र प्रविधिको उचित संयोजनमार्फत सदस्य सेवालाई उन्नत बनाउँदै लगिएको जानकारी उनले गराए ।
अध्यक्ष मानन्धरले ओकूबाट प्राप्त सम्मान संस्थाका सदस्य, सञ्चालक, कर्मचारीहरु, पुरस्कारका लागि छनौट गर्ने नेफ्स्कून लगायत सबै तहका छाता संघ, प्रविधि साझेदारहरु लगायतको साझा उपलब्धि भएको भन्दै उनीहरुप्रति कृतज्ञता समेत व्यक्त गरे ।
कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले चन्द्रागिरिको उपलब्धि फेडेरेशनका लागि पनि गौरवको विषय भएको बताए । ‘हामीसँग आबद्ध भएका संस्थाहरुको गौरवलाई हामीले फिल गर्ने कुरा हो, ’उनले भने, ‘चन्द्रागिरिले अवार्ड पाएसँगै तत्पश्चात भेट भएका कोरियाली फेडेरेशनका अध्यक्ष, अष्ट्रेलियाको म्युचुअल बैंकका कार्यकारी प्रमुख लगायतले पनि खुसी व्यक्त गर्दै नेपालको साकोस अभियानसँगको सम्बन्धलाई महत्व दिएको पाएँ ।’ यो उपलब्धिले विश्व मानचित्रमा गौरव स्थापित गरेको छ । यो क्षण दोहोरिएर आउँदैन । भोलि अरु आउलान् तर चन्द्रागिरि त पहिलो भन्ने इतिहास बनेको छ । यो शुरुवात हो ।’
यस्तै, नेफ्स्कूनका अध्यक्ष डा.शिवजी सापकोटाले भने, ‘यो सेलेब्रेशनको अवसर हो । यो केवल चन्द्रागिरि साकोसको लागि मात्र होइन नेपालको साकोस अभियानकै लागि महत्वपूर्ण उपलब्धि हो ।’
नेफ्स्कूनले सन् २००६ मा डिजिटलाइजेशनको कुरा शुरु गरको उल्लेख गर्दै उनले नेफ्स्कूनले नेपाली भाषामा बनाएको नेकोस सफ्टवेयरको पाइलटिङ हाल चन्द्रागिरि साकोसका सिईओ कृष्णकुमार श्रेष्ठ काभ्रेको सामुदायिक साकोसको सिईओ हुँदा गरिएको र धेरै सहयोग गर्नुभएको स्मरण गरेका थिए । इनोभेशनको विषयमा चन्द्रागिरि साकोस सधैं अघि रहेको बताउँदै नेफ्स्कून सिईओ डा.सापकोटाले प्रविधिको इनोभेशनले सदस्यहरुलाई कतिको छोएको छ भन्ने कुरा नै ओकूले हेरेको उल्लेख गरे । पछिल्लो सम्मानसँगै चन्द्रागिरि साकोसलाई अब चुनौतीहरु पनि थपिएको भन्दै उनले सदस्यहरुलाई थप सेवा प्रदान गर्ने दिशामा संस्थाबाट नवप्रवर्तनको अपेक्षा गरिएको बताए ।
चन्द्रागिरिले पुरस्कार पाएसँगै नेपालको साकोस अभियानलाई हेर्ने अन्तर्राष्ट्रिय दृष्टिकोणनै परिवर्तन भएको आफूहरुले पाएको नेफ्स्कून अध्यक्ष ढकाल तथा प्रमुख कार्यकारी अधिकृत डा.सापकोटाले बताए ।
त्यसमाथि, प्रविधिका दृष्ट्रिकोणले नीतिगत एवम कानूनी अनुकूलताको अभावका साथै प्राविधिक सक्षमतामा पनि प्रश्न चिन्ह उठिरहेको समयमा प्रविधिकै क्षेत्रमा महत्वपूर्ण काम गरेकोमा पुरस्कृत हुुनु आफैमा उपलब्धि भएको उनीहरूले बताए ।
कार्यक्रममा चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्णकुमार श्रेष्ठले आजको समयमा प्रविधिमार्फत नै सदस्यहरुलाई सेवा प्रदान गर्नुपर्छ भन्ने विश्वाससहित विभिन्न कानूनी तथा नीतिगत अड्चनका बाबजूद संस्थाले उल्लेख्य काम गरेको (घुमाएर कान समाएको) र त्यही काम पुरस्कृत भएको बताए । उनले भने, ‘हामीले प्राप्त गरेको अन्तर्राष्ट्रिय सफलताको सन्देश सबैतिर प्रवाहित हुन्छ । गलत गर्ने सहकारीहरु मात्रै छैनन है राम्रो गर्नेहरु पनि छन् भन्ने कुरा बजारमा जान्छ । सहकारीहरुले सदस्यहरुको जीवनमा ल्याएको परिवर्तनको सकारात्मक सन्देश अब बाहिर आउनुपर्छ यसले त्यो बाटो पनि खोलेको छ ।’
उनले भने, ‘हाम्रो ७५ प्रतिशत कारोबार डिजिटल माध्यम प्रयोग गरेर हुने गरेको छ । मोबाइल बैंकिङ, एटीएम, क्यूआर लगायतका कारण हाम्रा काउन्टरहरु बिस्तारै होलो हुँदै गएका छन् । २४ हजार सदस्यहरुमध्ये झण्डै आधाले मोबाइल बैंकिङ प्रयोग गर्नुहुन्छ । ४० प्रतिशत सदस्यहरु युवा हुनुहुन्छ । डिजिटल रुपान्तरणमा अझै काम गर्न सक्दा भोलि युवाहरु नेतृत्वमा आउने सम्भावना छ ।’
सिईओ श्रेष्ठले सहकारीको परिचय र साखको विषय शहरी क्षेत्रमा काम गर्ने सहकारीहरुमार्फत चित्रित हुने गरेको भन्दै त्यही कुरालाई ध्यानमा दिएर चन्द्रागिरिले आफूलाई सुशासित, मर्यादित र विश्वसनीय ढंगले उभ्याउँदै लगएको दाबी गरे । शहरी क्षेत्रबाट सहकारीको राम्रो सन्देश दिने गरी काम गर्ने अठोट लिएको चन्द्रागिरि साकोस केही हदसम्म सफल भएको उनले बताए ।
कार्यक्रमका तस्बिरहरू हेराैं
उनले संस्थाको सञ्चालक समिति, व्यवस्थापन, जिल्ला, प्रदेश तथा केन्द्रीय छाता संघ, राष्ट्रिय सहकारी महासंघ, सहकारी बैंक, प्रविधिका क्षेत्रमा सहयोगी र साझेदार निकायहरु, सरोकारवाला निकायहरु, एशियाली ऋण महासंघ (अक्कू) आदि सबैको साथ र सहयोगले संस्थाले सम्मान प्राप्त गरेको भन्दै कृतज्ञता व्यक्त गरे ।
रजत जयन्ती मनाइसकेको चन्द्रागिरि साकोसले २५ वर्षमा आज पहिलो पटक पत्रकार सम्मेलन गरेको हो । उक्त सम्मेलनमार्फत पछिल्लो अन्तर्राष्ट्रिय उपलब्धिसँगै संस्थाको विगत, वर्तमान र आगतबारे संस्थाका सिईओ श्रेष्ठले प्रस्तुतीकरणसहित जानकारी उपलब्ध गराएका थिए । यस्तै, कार्यक्रममा डिजिटल रुपान्तरणमा चन्द्रागिरि साकोसले खेलेको भूमिका चित्रित गर्ने भिडियो सामाग्री पनि प्रस्तुत गरिएको थियो ।
संस्थाका सिईओ श्रेष्ठले २५ वर्षको गौरवमय इतिहास कायम गर्न सफल ३६५ दिननै काउण्टर सेवा सञ्चालन गर्दै आएको, प्रविधिका कारण चौबीसै घन्टा सेवा, सामाजिक सुरक्षाका विविध कार्यक्रम, महिला समूह परिचालन कार्यक्रम, एम्बुलेन्स र शव वाहन सेवा लगायत उपलब्ध गराउँदै आएको चन्द्रागिरि साकोस समुदायमा आधारित सदस्य केन्द्रित संस्था भएको बताए ।
कार्यक्रमका दाैरान चन्द्रागिरि यात्रा कार्ड र किसान नेट सेवाको शुभारम्भ भएको घोषणा गरिएको थियो ।
ओकूले प्रविधिको क्षेत्रमा विश्वका बचत तथा ऋण सहकारीहरुको योगदान बढाउँदै सदस्य सेवामा सहजता ल्याउने उद्देश्यका साथ सन् २०२१ देखि प्रत्येक वर्ष डिजिटल ग्रोथ अवार्ड प्रदान गर्दै आएको छ ।
संस्थाले सोमबारको कार्यक्रममा दिएको जानकारी अनुसार हाल संस्थाको शेयर पुँजी २२ करोड ९२ लाख रुपैयाँ, जगेडा कोष ११ करोड २९ लाख रुपैयाँ, कुल संस्थागत पुँजी ३४ करोड २४ लाख रुपैयाँ, बचत संकलन ३ अर्ब ९ करोड रुपैयाँ, ऋण लगानी २ अर्ब २८ करोड रुपैयाँ तथा कुल सम्पत्ति ३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।
कार्यक्रममा संस्थाका पदाधिकारीहरू, व्यवस्थापनका उच्च तहमा कार्यरत कर्मचारीहरू, सहकारीसँग सम्बद्ध विभिन्न निकायका उच्च तहमा रहेका पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।
धिप्रीसँगको सहकार्यमा










