शिक्षकलाई तीजको दर खुवाउने बजेट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग
थानकोट ।
रसुवामा बाढीबाट प्रभावित क्षेत्रमा राहत, खोज तथा उद्धार र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।
प्राप्त सहयोगलाई एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विभिन्न दाताबाट प्राप्त रकम कोषमा दाखिला गर्ने प्रक्रिया अघि बढाएका छन्।
अर्थ मन्त्रालयका अनुसार पछिल्लो ६ घण्टाको अवधिमा विभिन्न कम्पनी तथा संस्थाबाट प्राप्त सहयोगमार्फत २७ करोड ३३ लाख रुपैयाँ संकलन भएको छ। सम्बन्धित दाताहरूले मन्त्रालयमा रकम हस्तान्तरण गरेपछि उक्त रकम विपद् उद्धार कोषमा जम्मा गर्ने प्रक्रिया अघि बढाइएको हो।
संकलित रकम रसुवा बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारसँगै खोजी कार्य र आगामी पुनर्स्थापनाका लागि परिचालन गरिने जनाइएको छ। कोषमा योगदान गर्ने कम्पनी तथा अन्य सहयोगदाताको विवरणसमेत सार्वजनिक गर्ने तयारी गरिएको छ।
तीजको दर खुवाउने बजेट राहत कोषमा
चन्द्रागिरि नगरपालिका-१ दहचोकस्थित ऋचा सहशिक्षा सदनले आउँदो साता विद्यालयमा शिक्षकहरूका लागि तीजको दर खुवाउन छुट्याएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ ।
विद्यालयले पूर्वनिर्धारित कार्यक्रमका लागि छुट्याइएको रकममा केही थप गरि ५० हजार रुपैयाँ उक्त राहत कोषमा जम्मा गरिएको जनाएको हो ।











