चन्द्रागिरि नगरसहित सरकारका हजार बढी वेबसाइट अझै ‘अफलाइन’
थानकोट ।
सरकारले पीएचपीमा देखिएको सुरक्षा कमजोरी समाधान गरेर ९३० वटा सरकारी वेबसाइट खुलाएको दाबी गरे पनि अधिकांश सरकारी वेबसाइट अझै सर्वसाधारणको पहुँचमा आएका छैनन् ।
स्थानीय तहका अधिकांश वेबसाइट अझै अफलाइन देखिन्छ । यसले सरकारी प्रणालीको सुरक्षा अद्यावधिक गर्ने काम अघि बढे पनि सबै वेबसाइट पुनः सञ्चालनमा आइनसकेको देखाउँछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले सुरक्षा अद्यावधिक र परीक्षणपछि अधिकांश सरकारी वेबसाइट पुनः सञ्चालनमा ल्याइएको बताएको छ । तर, अझै धेरै सरकारी वेबसाइट अझै पहुँचबाहिर देखिए प्रयोगकर्ताको गुनासो छ । मन्त्रालय र प्रमुख सरकारी निकायका वेबसाइट सञ्चालनमा आए पनि स्थानीय तहका धेरै वेबसाइट अझै खुलेका छैनन् ।
प्रधानमन्त्री कार्यालयअन्तर्गतको सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका प्रमुख सुवास ढकालका अनुसार एकीकृत तथ्यांक व्यवस्थापन केन्द्र (आइडीएमसी) मातहत रहेका ९३० वटा वेबसाइट खुलाइएको छ । तर सबै सरकारी वेबसाइट एउटै प्रणालीबाट सञ्चालन नहुने भएकाले पुनः सञ्चालनको अवस्था पनि फरक–फरक रहेको उनको भनाइ छ । कतिपय स्थानीय तहले आफ्नै सर्भर वा सेवा प्रदायकमार्फत वेबसाइट सञ्चालन गर्ने भएकाले ती वेबसाइटको अवस्थाबारे केन्द्रलाई तत्काल जानकारी नहुन सक्ने उनले बताए ।
“साइट सबै अन छ, सार्वजनिक पहुँच मात्रै बन्द गरेको हो । अहिले आइडीएमसीमा होस्ट भएका वेबसाइट खुलाएका छौँ । यसमा संघ र प्रदेश तथा स्थानीय तहका छन्। कतिपयले आफैँ होस्ट गर्नुभएको छ,” ढकालले भने, “बन्द भएका साइट सुरक्षित रहेको प्रमाणपत्र जारी भएपछि हामी खोलिदिन्छौँ।”
सरकारी वेबसाइट अफलाइन हुनुको कारण पीएचपी नामक प्रोग्रामिङ भाषामा भेटिएका दुई गम्भीर सुरक्षा कमजोरी थिए । दुई साता बढी भइसक्दा पनि सरकारले वेबसाइटको समस्या समाधान नगरेका कारण अफलाइन छ ।
बुधबार राष्ट्रिय साइबर सुरक्षा केन्द्रले वेबसाइट अनलाइन गर्न एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयले संघीय मन्त्रालय, आयोग तथा सचिवालय, प्रदेश मन्त्रालय, नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई पत्राचार गर्दै वेबसाइटको सुरक्षा मापदण्ड पालना गर्न भनेको थियो ।
पछिल्लो समय साइबर सुरक्षा जोखिम बढ्दै गएकाले वेबसाइटमा हुने तथ्यांक आदानप्रदानलाई इन्क्रिप्ट गर्न टीएलएस १.२ वा टीएलएस १.३ प्रोटोकलसहितको वैध एसएसएल/टीएलएस प्रमाणपत्र प्रयोग गर्न भनेको छ ।
वेबसाइटलाई सुरक्षित माध्यम एचटीटीपीएसबाट मात्रै सञ्चालन हुने व्यवस्था मिलाउन र टीएलएस १.२ वा टीएलएस १.३ प्रोटोकल मात्र प्रयोग गर्न केन्द्रले सूचना जारी गरेको थियो । पीचएपी जोखिम पश्चात अफलाइन गरिएका साइट पुनः सन्चालन अघि अडिट गर्न भनेको छ ।
यो समाचार तयार पार्दाका बखतसम्म चन्द्रागिरि नगरको वेबसाइट पनि अफलाइन छ ।














