सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरुद्ध निर्मम बन्दै प्रहरी, बलम्बुबाट समातिए २४ वर्षीय युवा

Thankot Times

थानकोट ।

भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिसम्बन्धी विषयमा विभिन्न जातजातिलाई लक्षित गर्दै अपमानजनक भिडियो सामग्री सामाजिक सञ्जालमा प्रसारण गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२, बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडै रहेका छन्।

ब्यूरोले गत भदौ १० गते भोटेकोशीमा आएको बाढीलाई लिएर विभिन्न जातजातिलाई होच्याउने, अपमानित गर्ने तथा विपत्तिमा खुसी व्यक्त गर्ने प्रकृतिको भिडियो बनाई फेसबुक रिलमार्फत प्रसारण गरिएको जनाएको छ।

उक्त सामग्रीमाथि गरिएको प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा मडैको संलग्नता खुलेको ब्यूरोको भनाइ छ। ब्यूरोबाट खटिएको टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो।

मडैमाथि विद्युतीय(इलेक्ट्रोनिक)कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *