संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेनको १२ मिनेट सम्बोधन

Thankot Times

थानकोट ।

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालको जलवायु न्यायको मुद्दा उठाएका छन् ।

करिब १२ मिनेट लामो सम्बोधनका क्रममा उनले भोटेकोसी र त्रिशूलीमा आएको बाढीबाट नेपालले भोगेको क्षति तथा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढिरहेको जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए ।

बोल्नुअघि र बोल्दै गर्दा गड्गडाहट ताली पाएका शाहले भोटेकोसी र त्रिशूली बाढीमा तत्काल सहयोगका लागि धन्यवाद भनेका छन् । आयरल्यान्डका वक्ताले बोलेपछि शाहले बोलेका थिए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले भोटेकोसीको बाढीलाई ‘हिमनदी सुनामी’को संज्ञा दिँदै त्यसबाट नेपालसँगै चीन र भारतमा समेत प्रभाव परेको बताए । शाहले जलवायु संकटलाई ‘भूराजनीतिक दोष’ गर्न नआएको बताए ।

प्रधानमन्त्री शाहले हिन्दुकुश हिमालय क्षेत्र करिब २ अर्ब मानिसको जीवनसँग जोडिएको उल्लेख गर्दै हिमालय क्षेत्रको जलवायु मुद्दामा नेपाल, चीन र भारतबीच सहकार्यको प्रस्ताव गरे ।

बाढीले नेपालको १० प्रतिशत अर्थतन्त्रमा क्षति भएको भन्दै उनले त्यसलाई मानवीय संकट मात्र नभएर विकास संकट भएको बताए । जलवायु वित्तमा अनावश्यक विलम्ब नगर्न भन्दै शाहले भने, ‘घर जल्दा १५ वटा फारम भरिँदैन ।’

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले केही समय नेपाली भाषामा बोलेका थिए । उनले नेपालका सांस्कृतिक तथा आध्यात्मिक पहिचानसँग जोडिएका पशुपतिनाथ र बुद्धको प्रसंगसमेत उल्लेख गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *