एशियाली खेलकुद: पुरुष क्रिकेट- नेपालले अफगानिस्तानलाई ५ विकेटले हरायाे
थानकोट ।
जापानमा जारी २०औँ संस्करणको एशियाली खेलकुदको पुरुष क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालले विजयी शुरुआत गरेको छ ।
आइचीमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा अफगानिस्तानले दिएकाे १०३ रनकाे लक्ष्य नेपालले १८ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायाे । नेपालका सन्दीप जोराले ३४, रोहित पौडेलले नटआउट ३३ रन बनाए । अफगानिस्तानका फरिदुन दाउदजई, अब्दुल्ला अहमदजाई र अरब गुलले १/१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएकाे थियाे । अफगानिस्तानका फैसल खान अहमदजई र नजिबुल्लाह जाद्रानले समान ३० रन बनाए । नेपालका कुशल भुर्तेलले ४ र ललित राजवंशीले ३ विकेट लिए ।
प्रतियोगितामा अफगानिस्तानको यो दोस्रो खेल हो । अफगानिस्तानले हिजो पहिलो खेलमा जापानलाई ४८ रनले हराएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा भाेलि बिहान ६ बजे जापानसँग खेल्नेछ ।
समूह ‘ए’ मा नेपाल, अफगानिस्तान र जापान रहेका छन् । समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् ।
क्वाटरफाइनलमा पुग्ने टोलीले भारत वा श्रीलङ्कामध्ये एक टोलीसँग खेल्नेछ ।
एशियाली खेलकुदको पुरुष क्रिकेटमा नेपाल र अफगानिस्तानबीच १२ वर्षपछि फेरि भेट भएको हो ।
सन् २०१४ मा दक्षिण कोरियाको इनचोनमा भएको प्रतियोगितामा नेपाल अफगानिस्तानसँग ८ रनले पराजित भएको थियो ।
एशियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो । नेपाल अहिलेसम्म क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेको छैन् ।














