नागढुंगा-नौबिसे सुरुङमार्ग भित्र जथाभावी सवारी साधन चलाउने गरेको पाइएको छ ।
संवेदनशील क्षेत्र भएकाले तोकिएका नियम पालना गर्दै सवारी चलाउनुपर्ने भए पनि चालकहरूले नियम उल्लंघन गर्ने गरेका हुन् ।
मुख्यगरी चालकहरूले तीव्र गतिमा सवारी चलाउने र ओभरटेक गर्ने गरेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरुङ भित्र नियम उल्लंघनका घटना बढेसँगै कारबाही तीव्र बनाइएको बताएको छ ।
कार्यालयका अनुसार भदौ १५ गतेदेखि असोज १३ गतेसम्म सुरुङमार्ग भित्र ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने १०२ जना चालकलाई कारबाही गरिएको हो ।
सुरुङमार्गभित्र सवारीसाधन ओभरटेक गर्दा दुर्घटनाको जोखिम बढ्छ । त्यसैले ट्राफिक प्रहरीलाई तोकिएको निर्धारित गति, लेन अनुशासन तथा अन्य ट्राफिक नियम पालना गरी सुरक्षित यात्रा गर्न सबै सवारी चालकलाई आग्रह गरेको छ ।
२ हजार ६८८ मिटर लामो नागढुंगा-नौबिसे सुरुङमार्ग गत साउन ११ देखि अत्यावश्यक सवारी संचालनमा ल्याइएको थियो भने अहिले सबै सार्वजनिक र निजी सवारीका लागि खुला गरिएको छ ।














