कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज, चन्द्रागिरिका केहि वडामा निर्विरोध
थानकोट ।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ ।
कांग्रेसको संस्थापन पक्षले यही असोज १८ गतेदेखि हुने १५औँ महाधिवेशनको तयारी गरिरहेकैबेला देउवा पक्षले पनि समानान्तर अधिवेशन थालेको छ ।
देउवा समूहले पनि १५औँ महाधिवेशन आउँदो मङ्सिर २१ देखि २३ गतेका लागि तोकेको छ ।
त्यही अनुसार नै यस समूहले यही असोज २० गते पालिका, असोज २३ गते प्रदेश सभा निर्वाचन क्षेत्रीय र मङ्सिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेको छ ।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको तर्क गर्दै अहिले महाधिवेशन गर्न नहुने माग देउवा पक्षको थियो । तर संस्थापन पक्ष भने यही असोज ३ गतेदेखि नै महाधिवेशनमा होमिइसकेकाले इतर पक्षले पनि महाधिवेशनको कार्यतालिका नै तोकेर तयारी थालेको हो ।
संस्थापन पक्षको १५औँ महाधिवेशनको प्रक्रियासँगै वडादेखि केन्द्रसम्म ठूलो संख्यामा युवा नेतृत्व आउँदैछ । झण्डै ४४ हजार युवा पदीय जिम्मेवारीमा पुग्ने अनुमान छ ।
यता, नेपाली काँग्रेस देउवा पक्षको वडा अधिवेशनअन्तर्गत चन्द्रागिरि नगरका केही वडामा आज अधिवेशन हुँदैछ ।
केही वडामा अधिवेशन सम्पन्न भएको बुझिएको छ ।
अहिले चन्द्रागिरि वडा नं. २ वाडभञ्ज्याङ र चन्द्रागिरि वडा नंं ९ मच्छेगाउँमा अधिवेशन सञ्चालन भइरहेको नेपाली काँग्रेसका एक नेताले जानकारी दिए ।













