नेपाल प्रिमियर लिगले पायो आईसीसीको आधिकारिक मान्यता

Thankot Times

थानकोट ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले औपचारिक मान्यता दिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै आईसीसीबाट प्रतियोगिताले मान्यता पाएको जानकारी दिएको हो । प्रतियोगिता २६ अक्टोबरदेखि २१ नोभेम्बरसम्म सञ्चालन हुँदै छ ।

‘आईसीसीबाट प्राप्त उक्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास नेपाल क्रिकेट संघले लिएको छ,’ क्यानले विज्ञप्तिमा भनेको छ ।

क्यानले यस महत्त्वपूर्ण मान्यताका लागि आईसीसीप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ ।

आईसीसीको मान्यतासँगै एनपीएलको तेस्रो संस्करणमा फ्रेन्चाइज टोलीहरूले विदेशी खेलाडी अनुबन्ध गर्न पाउने भएका छन् । प्रतियोगिताले नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय पहिचान विस्तारमा योगदान पुर्‍याउने अपेक्षा क्यानले गरेको छ ।

यसैबीच, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा उचित स्थानमा पुनःस्थापित गर्न देशभरका क्रिकेटकर्मीले वर्षौंदेखि अथक प्रयास गर्दै आएको बताएका छन् ।

नेपाली क्रिकेटको सामूहिक प्रयासलाई उल्लेख गर्दै खड्काले विश्वास, समर्पण र निरन्तर मेहनतका कारण नेपाललाई क्रिकेट राष्ट्रका रूपमा थप स्थापित गर्ने समय आएको बताएका हुन् ।

‘नेपाली क्रिकेटलाई उसको उचित स्थानमा पुनःस्थापित गर्न देशभरका नेपाली क्रिकेटसँग आबद्ध सबैले वर्षौँदेखि अथक प्रयास, विश्वास र समर्पणका साथ काम गर्दै आएका छन् । आफ्नो क्षमताभन्दा बढी उपलब्धि हासिल गर्दै आएको क्रिकेट राष्ट्रका रूपमा नेपाललाई पुनः स्थापित गर्ने यो सामूहिक प्रयास हो,’ उनले भनेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाली क्रिकेटलाई निरन्तर साथ र विश्वास दिएकोमा धन्यवाद दिँदै खड्काले क्रिकेट जगत्‌लाई ‘हिमालयको उत्सव’ मा स्वागत गर्न नेपाल तयार रहेको बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ