अर्नब चक्रवातको प्रभावले चन्द्रागिरिमा निरन्तर वर्षा
थानकोट ।
बङ्गालको खाडीमा विकसित चक्रवात अर्नबको अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण देशभरको मौसम प्रभावित भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानमा बादल लाग्नुका साथै विभिन्न प्रदेशमा वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बदली रहनेछ भने सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने पूर्वानुमान गरिएको छ ।
कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ । त्यसैगरी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
विशेषगरी कोशी, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा भने हल्का वर्षा हुन सक्ने अनुमान छ ।
आज राति देशभर साधारणतया बादल लाग्नेछ । हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।
महाशाखाका अनुसार चक्रवात अर्नबको अवशेष र पश्चिमी वायुको प्रभाव आज अपराह्नदेखि क्रमशः कमजोर हुँदै जानेछ ।











