पत्रकार धरपकड घटनामा एमालेको आपत्ति

Thankot Times

थानकोट ।

नेकपा एमालेले पत्रकारहरूमाथि धरपकड गरिएको घटनामा कडा आपत्ति जनाएको छ ।

सञ्चारगृहहरूमा छापा मार्ने, सञ्चारकर्मीमाथि धरपकड गर्ने र भय तथा त्रासको वातावरण सिर्जना गर्ने कार्य अत्यन्तै निन्दनीय, अलोकतान्त्रिक र फाँसीवादी प्रवृत्तिको द्योतक रहेको एमालेको भनाइ छ ।

‘प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो । स्वतन्त्र सञ्चारमाध्यममाथिको हस्तक्षेप नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रहार हो । राज्यका निकायहरू कानुनको शासनको मर्यादाभित्र रहनुपर्नेमा स्वयं सरकारले नै कानुनी प्रक्रिया र लोकतान्त्रिक मान्यताविपरीत दमनकारी व्यवहार प्रदर्शन गर्नु गम्भीर चिन्ताको विषय हो’, एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले भनेका छन् ।

‘कानुनको शासनको नाममा कानुनको उल्लङ्घन, सुशासनको नाममा दमन र लोकतन्त्रको नाममा निरङ्कुशता स्वीकार्य हुन सक्दैन । सञ्चारमाध्यममाथि गरिने कुनै पनि प्रकारको गैरकानुनी हस्तक्षेप र धरपकड तत्काल बन्द गरियोस् । सञ्चारगृह तथा सञ्चारकर्मीको संवैधानिक अधिकार र प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति गरियोस् । सरकारको यस प्रकारको अलोकतान्त्रिक, दमनकारी र निरङ्कुश कदमको घोर निन्दा तथा भर्त्सना गर्दछाैँ’, उनले लेखेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *