कलंकीसहित विभिन्न रुटमा आज सशस्त्र प्रहरी बल, नेपालद्वारा ३ वटा निःशुल्क बस सेवा सञ्चालन हुने
थानकोट ।
सशस्त्र प्रहरी बल, नेपालले तिहारको भाइटिकाको दिन आज काठमाडौँ उपत्यका र भक्तपुरमा सर्वसाधारण यात्रुहरूको सहज आवतजावतका लागि ३ वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ ।
सार्वजनिक यातायातका साधनहरू अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारण नागरिकहरूलाई आवतजावतमा सुविधा पुर्याउने उद्देश्यका साथ सशस्त्र प्रहरी बल, नेपालद्वारा निःशुल्क बस सेवा सञ्चालन गरिएको हो।
सशस्त्र प्रहरी बल, नेपालले काठमाडौ र भक्तपुरमा सञ्चालन गर्ने निःशुल्क बस सेवा आज बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।
काठमाडौँ उपत्यकामा सञ्चालन गरिने बसहरूमध्ये सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर,सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरूलाई सेवा प्रदान गर्नेछ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सितापाइला, कलङ्की, बल्खु, कोटेश्वर,नयाँ बसपार्क,हुँदै विभिन्न ठाउँका यात्रुहरूलाई निःशुल्क सेवा प्रदान गर्नेछ ।
यस्तै प्रधान कार्यालय स्वयम्भुदेखी भक्तपुर सम्म चल्ने बसले स्वयम्भू , कलंकी , बानेश्वर , कोटेश्वर , पेप्सिकोला , सानो ठिमी , पुरानो ठिमी , सल्लाघारी , लोकन्थली हुँदै पुनः बानेश्वर , कलंकी , स्वयम्भू सम्म सेवा दिनेछ ।
दशैँको समयमा समेत सार्वजनिक यातायातको अभाव झेल्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै नागरिकलाई सहज यात्राको सुविधा दिलाउन सशस्त्र प्रहरी बल, नेपालले निरन्तर निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।












