नेपाल प्रिमियर लिग क्रिकेट-२०२६: चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा
थानकोट ।
चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवनलाई ३ विकेटले हराउँदै सुदूरपश्चिमले फाइनलमा स्थान पक्का गरेको हो ।
जितका लागि चितवनले दिएकाे १३४ रनकाे लक्ष्य पछ्याएकाे सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाउँदै १३६ रन बनायाे ।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियाे ।
चितवनका लागि डेविड मलानले सर्वाधिक ७१ रन बनाए ।
उनले ५१ बलमा नौ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, सलाहुद्दिन खानले १६ बलमा १८ तथा कमल ऐरीले आठ बलमा १० रन बनाए ।
अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । देव खनालले छ तथा क्यामिल मिसराले चार रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलाइनले सर्वाधिक तीन विकेट लिए ।
थारिन्दु रत्नायकेले दुई तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले समान एक विकेट हात पारे ।










