चन्द्रागिरिमा स्वास्थ्य बीमा सुरू, बिहीबारबाट दर्ता सुरू

Thankot Times

थानकोट, चैत्र ९ ।

चन्द्रागिरि नगरपालिकामा बुधबारबाट स्वास्थ्य बीमा दर्ता सुरू गरिएको छ । नगर कार्यपालिकाको कार्यालयमा एक समारोहका बीच नगरप्रमुख घनश्याम गिरीले र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले संयुक्त रूपमा बुधबार आयोजित कार्यक्रममा चनपा–४ का ७४ वर्षीय ज्येष्ठ नागरिक तुइलाल नकर्मीलाई बीमा कार्ड वितरण गरी स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । भोलिदेखि नगरका १५ वटै वडामा दर्ता सहयोगीले बीमा दर्ता गराउन सुरू गर्ने जनाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बीमा बोर्डको उच्च प्राथमिकता प्राप्त सो कार्यक्रम कार्यान्वयन गर्ने चन्द्रागिरि काठमाडौं उपत्यकाभित्र दोस्रो नगरपालिका भएको छ।

हाल नगरपालिकाले १५ शय्याको थानकोट नगर अस्पताल, एक सहरी स्वास्थ्य केन्द्र तथा १० स्वास्थ्य चौकीमार्फत नगरबासीलाई निःशुल्क स्वास्थ्य सेवा  प्रदान गरिराखेको छ।

नगरपालिकाले बीमित लागि चन्द्रागिरि–४ स्थित थानकोट प्राथमिक अस्पतालमा सेवा लिन सक्ने जनाएको छ।

बीमा आबद्ध भइसकेपछि एक लाख रुपैयाँसम्मको सेवा निःशुल्क प्राप्त गर्न सकिने छ। ती सेवामा आकस्मिक, बहिरङ्ग, अन्तरङ्ग, निदानात्मक सेवा तथा तोकिएका औषधि निःशुल्क प्राप्त गर्न सकिने जनाइएको छ।

यसका लागि तीन जनासम्मका परिवारले तीन हजार पाँच सय रुपैयाँ योगदान रकम तिर्नुपर्नेछ।

अतिगरिब, एचआइभी संक्रमित, कुष्ठरोगी, फरक क्षमता भएका (अपाङ्गता) र ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सो योगदान रकममा शतप्रतिशत छुटको व्यवस्था गरिएको छ।

अवसरमा नगरप्रमुख गिरीले भन्नुभयो  ‘म बीमा कार्यक्रममा आबद्ध हुन सबै नगरबासीलाई आह्वान गर्दछु। यसले आधारभूत स्वास्थ्य सेवा पाउन सहयोग पुग्ने छ। नगरबासी उपचारका लागि अन्यत्र जानु नपर्ने गरी स्वास्थ्यका पूर्वाधार, जनशक्ति तथा उपकरण विकासमा नगरपालिकाले उच्च प्राथमिकता दिएको छ। नगरभित्रका सबै स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी सेवा प्रदान गरिराखेका छौं।’

पछिल्लो समय कोरोनाविरूद्धको खोप लगाउन नगरपालिकाले घरदैलो अभियान सञ्चालन गरी खोप कार्यक्रम पनि सञ्चालन गरिराखेको छ।

नगरपालिकाले स्थानीय बजेटमार्फत १५ वटै वडामा स्वास्थ्य प्रवर्द्धन गर्न चार लाख रुपैयाँ विनियोजनसमेत गरेको छ। यस्तो बजेट विनियोजन गर्ने चन्द्रागिरि पहिलो भएको बताइएको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *