एएफसी कपः दशरथ रंगशालामा लिग च्याम्पियन मच्छिन्द्र आज श्रीलंकन ब्लुस्टारसँग भिड्दै

Thankot Times

थानकोट ।

नेपालको मच्छिन्द्र फुटबल क्लबले एएफसी कप २०२२ अन्तर्गत पहिलो चरणमा श्रीलंकाको ब्लुस्टारसँग खेल्दैछ। खेल आज साँझ पाँच बजे दशरथ रंगशालामा हुनेछ।

मच्छिन्द्र पहिलो पटक एएफसी कपका लागि छनोट भएको हो। सहिद स्मारक ए डिभिजन लिगको सातौं चरणसम्ममा शीर्ष स्थानमा रहने टिमलाई एएफसी कपमा पठाउने अखिल नेपाल फुटबल संघ (एन्फा) को नियमअनुसार मच्छिन्द्र एएफसी कपमा स्थान पक्का गरेको थियो।

मच्छिन्द्रले आजको खेलमा जित हात पारे दोस्रो चरणमा भारतको एटिके मोहन बगान एफसीसँग प्रतिस्पर्धा गर्नेछ। यो खेलको विजेता र अर्को पोलको विजेताबीच प्लेअफ हुनेछ।

प्लेअफमा जित हात पार्ने टिमले एएफसी कपको समूह ‘डी’ मा स्थान पाउनेछ। समूह ‘डी’ भारतको गोकुलम केरला, बंगलादेशको बसुन्धरा किंग्स, माल्दिभ्सको माजिया र प्लेअफ विजेताबीच प्रतिस्पर्धा हुनेछ।

नेपालको लिग च्याम्पियनमच्छिन्द्रले समूह चरणमा स्थान बनाउने लक्ष्य लिएको छ। प्रशिक्षक प्रवेश कटुवालले सहिद स्मारक ए डिभिजन लिग सुरु भएदेखि नै एएफसी कपको तयारी थालेको बताए।

मच्छिन्द्रको टिममा सबै खेलाडी सहिद स्मारक ए डिभिजन लिग खेलेकै छन्। लिगको दोस्रो चरणमा सुनील बल घाइते भएका थिए। अहिले उनले टिममा कमब्याक गरेका छन्। तर उनी पुरानै फर्म आउँछन् या आउँदैन भन्ने चिन्तामा मच्छिन्द्र छ।

ब्लुस्टार श्रीलंकाको सुपर लिग च्याम्पियन टिम हो। श्रीलंकन क्लबको टिम संयोजन राम्रो भएको प्रशिक्षक कटुवालको भनाइ छ।

२०७६ मा लिग च्याम्पियन भए पनि मच्छिन्द्र २०२१ को एएफसी कप खेल्नबाट बञ्चित भएको थियो। एएफसीले क्लब लाइसेन्स नभएका क्लबलाई प्रतियोगिता खेल्न रोक लगाएको थियो। गत वर्ष लाइसेन्स पाएको त्रिभुवन आर्मी क्लबले एएफसी कपमा सहभागिता जनाएको थियो।

यो वर्ष भने आर्मी, मनाङ, मच्छिन्द्र र एपिएफ गरी चार क्लबले क्लब लाइसेन्स पाएका थिए।

पहिलो पटक एएफसी कप खेल्ने अवसर पाएको मच्छिन्द्र सन् २००४ मा पहिलो पटक ए डिभिजनमा बढुवा भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *