एएफसी एसियन कप छनोटः नेपाल जोर्डनसँग पराजित

Thankot Times

एएफसी एसियन कप २०२३ छनोट तेस्रो चरणको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको छ ।

बुधबार कुवेतको राजधानी कुवेत सिटीस्थित अल जबर अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपालले बलियो प्रतिद्वन्दी जोर्डनलाई पहिलो हाफमा रोक्न सफल भए पनि दोस्रो हाफमा भने दुई गोल बेहोर्यो ।

जोर्डनको जितमा अलि इयाद ओलवान र हम्जा अल दार्दर पेनाल्टीमार्फत एक गोल गरे ।

खेलको ६९औं मिनेटमा ओल्वानले जोर्डनलाई पहिलो अग्रता दिलाएका थिए । यस्तै, निर्धारित समय सकिन आठ मिनेट बाँकी रहँदा नेपालले दोस्रो गोल बेहोर्यो ।

नेपालका रक्षक सुमन अर्यालले मोहम्मद सुलेमानलाई १८ यार्ड बक्सभित्र फउल गरेपछि जोर्डनले पेनाल्टी पाएको थियो । जसमा दार्दरले कुनै गल्ती गरेनन् ।

त्यसअघि जोर्डनले पहिलो हाफमा पनि पेनाल्टी पाएको थियो । नेपालका गौतम श्रेष्ठले मोहम्मद फैजललाई पेनाल्टी बक्सभित्र लगाएपछि जोर्डनले पेनाल्टी पाएको थियो । तर, त्यसलाई नेपालका गोलकिपर दीप कार्कीले विफल बनाउँदै नेपालको संकट टारेका थिए ।

यसै खेलबाट नेपालका लागि दुई खेलाडीले डेब्यु गरेका छन् । नेपालका गोलकिपर दीप कार्की र रक्षक विकास तामाङले सुरुआती रोजाईमा पर्दै अन्तर्राष्ट्रिय खेलमा नेपालबाट डेब्यु गरेका हुन् ।

जितसँगै तीन अंक जोडेको जोर्डन समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । यस्तै, समान खेलबाट तीन अंक जोडे पनि गोलआधारमा इन्डोनेसिया दोस्रो स्थानमा छ । तालिकाको तेस्रो स्थानमा घरेलु टिम कुवेत र चौथो स्थानमा नेपाल छ ।

यसअघि बुधबारै भएको पहिलो खेलमा इन्डोनेसियाले कुवेतलाई २–१ ले पराजित गरेको थियो ।

अब नेपालले २८ गते कुवेत र ३१ गते इन्डोनेसियासँग खेल्ने तालिका छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *