बेलायतले दुई वर्ष अनुभव भएका नर्स मात्र लैजाने

Thankot Times

थानकोट ।

बेलायत सरकारले नेपाली दक्ष नर्सलाई रोजगारीको अवसर दिने बताएको छ।

नेपाल र बेलायत सरकारबीच नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य क्षेत्रमा रोजगारी दिने सम्झौताअनुसार नै दुई वर्ष अनुभव भएका दक्ष नर्सलाइ रोजगारी दिने बताइएको हो।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले दक्ष नर्सहरुलाई उचित सेवा सुविधासहित स्वास्थ्य क्षेत्रमा रोजगारीको अवसर दिने बताइन्, सेतोपाटी अनलाइनमा खबर छ। ‘बेलायत सरकारको अपेक्षा भनेको दक्ष स्वास्थ्यकर्मीले स्वास्थ्य क्षेत्रमा काम गरुन् भन्ने हो,’ उनले भनिन्,‘नेपाली नर्सहरुको चाहाना पनि बेलायत गएर काम गर्ने रहेको मैले पाएकी छु।’

राजदूत पोलिटले नेपाली नर्सहरुले बेलायतमा काम गर्दा बेलायतको स्वास्थ्य क्षेत्रलाई निकै लाभ पुग्ने पनि बताइन्। त्यस्तै  राजदूत पोलिटले बेलायत काम गरेर फर्केका नेपाली नर्सले स्वदेशमा फर्केर नेपालको स्वास्थ्य क्षेत्रमा दक्षता प्रयोग गर्न सक्ने उल्लेख गरिन्।

बेलायत रोजगारीका लागि भर्ना प्रकृयामा नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका २० देखि ४५ वर्ष उमेरका नर्सहरु सहभागी हुन पाउँछन्। स्टाफ नर्स, बिएन, बिएससी नर्सिङ, एमएन सहभागी हुन पाउनेछन्। अंग्रेजी भाषामा दक्ष हुनुपर्नेछ। बेलायत जान आइएलटिएसमा सात स्कोर ल्याउनुपर्नेछ। त्यस्तै ओइटीमा ‘बी’ ल्याउनु पर्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *