यू-१७ एसिया कप छनाेटमा नेपालले आज थाइल्याण्डसँग खेल्दै

Thankot Times

थानकोट ।

भियतनाममा आजदेखि सुरु हुन लागेको एएफसी यू-१७ एसियन कप छनोट अन्तर्गत समूह एफको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग खेल्दैछ ।

भियतनामको राष्ट्रिय रंगशालामा नेपाल र भियतनामबीचको खेल दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ ।

यू–१७ एसियन कप छनोटको प्रमुख लक्ष्यसहित भियतनाम पुगेको नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठ थाइल्याण्डसँगको खेलका लागि आत्मविश्वासी छन् ।

खेलअघिको पत्रकार सम्मेलनमा मंगलबार उनले समूहमा सहभागी सबै टोली समान स्तरका भएको बताए । ‘यो समूहका सबै टिमको स्तर उस्तै छ जस्तो लाग्छ । हामी सबै विपक्षी टिमलाई सम्मान गर्छौं । कुनै पनि खेल सजिलो हुनेछैन । यद्यपि हाम्रो लक्ष्य अधिकतम अंक बटुलेर छनोट हुने हो । थाइल्यान्डसँगको पहिलो खेलमा हाम्रो लक्ष्य जित नै हुनेछ,’ मुख्य प्रशिक्षक श्रेष्ठले भने ।

नेपाली टिमका कप्तान प्रशान्त लक्समले आफूहरु कठोर मिहिनेतपछि भियतनाम आएको बताए । ‘सबै खेलमा शतप्रतिशत मेहनत गर्नेछौं । सबै खेलमा संयमता अपनाउने छौं,’ लक्षमले भने ।

थाइल्यान्डका मुख्य प्रशिक्षक पिपोब अनमोलले समूहका सबै टिम बलिया रहेको भएको र उनीहरुको सामना गर्न आफूहरु पूर्णरुपमा तयार रहेको बताए ।

समूह एफमा नेपाल र थाइल्याण्डसँगै चाइनिज ताइपेइ र घरेलु टोली भियतनाम छन् । समूहको शीर्ष स्थानमा रहने टिम फाइनल प्रतियोगिताका लागि छनोट हुनेछ । १० समूहमध्ये उत्कृष्ट ६ उपविजेता पनि छनोट हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *