चन्द्रागिरि नगरमा सामुदायिक स्वास्थ्य अधिकृत तथा नर्सहरूमा जिम्मेवारी हस्तान्तरण

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकामा सामुदायिक स्वास्थ्य अधिकृत र नर्सहरूमा जिम्मेवारी हस्तान्तरण गरिएको छ । 

बुधबार सामुदायिक स्वास्थ्य अधिकृत र सामुदायिक नर्सहरूका लागि ३ दिने अभिमुखीकरण कार्यक्रम समापन कार्यक्रमका बीच नगर प्रमुख घनश्याम गिरीले सामुदायिक स्वास्थ्य अधिकृत र नर्सहरूमा जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो । सो क्रममा नगर उपप्रमुख बसन्ती श्रेष्ठ, नगरप्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी, नगरका प्रमुख प्रशासकीय अधिकृत जीवन प्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो । 

सामुदायिक स्वास्थ्य अधिकृत र सामुदायिक नर्सहरूका लागि ३ दिने अभिमुखीकरण कार्यक्रम समापन कार्यक्रमका बोल्नुहुँदै नगरउपप्रमुख बसन्ती श्रेष्ठले समस्त नगरबासीहरूको स्वास्थ्य अवस्था सुक्ष्म रूपमा अध्ययनमा सामुदायिक नर्सहरूको भूमिका प्रभावकारी रहने विश्वास लिएको धारणा राख्नुभयो । सो क्रममा उपप्रमुख श्रेष्ठले स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको भूमिका र सामुदायिक नर्सहरूको भूमिका फरक रहने भएकोले प्रदत्त अधिकार जिम्मेवारीपूर्वक निर्वाहका लागि नवनियुक्त सामुदायिक नर्सहरू तथा स्वास्थ्य अधिकृतमा अनुरोध गर्नुभयो । 

कार्यक्रममा बोल्नुहुँदै नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाको पहिलो दायित्व आम नगरबासीहरू स्वस्थ राख्नु रहेको र सोका लागि  नगरपालिकाले सामुदायिक स्वास्थ्य अधिकृत र नर्सहरूको व्यवस्थापन गरिएको बताउनुभयो । नगरप्रमुख गिरीले नगरपालिकाले आगामी वर्षबाट नगरबासीहरूको आवश्यकताका आधारमा स्वास्थ्य क्षेत्रमा बजेट विनियोजनका लागि सामुदायिक नर्सहरूले प्रस्तुत गर्ने प्रतिवेदन महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

वडागत स्वास्थ्य चाैकी एवं शहरी स्वास्थ्य केन्द्रहरूसँग आवश्यक समन्वय गर्दै नगर स्वास्थ्य निर्देशिका अनुरूप जिम्मेवारी वहन गर्न सामुदायिक स्वास्थ्य अधिकृत र सामुदायिक नर्सहरू सक्षम हुने अपेक्षा लिएको बताउनु हुँदै नगरप्रमुख गिरीले नगरपालिका क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा दिन नगरपालिका सदैव तत्पर रहेको धारणा राख्नुभयो । उहाँले नगरबासीहरू कस्ता किसिमका रोगहरूबाट पिडित रहेका छन् भन्ने विवरण संकलनका लागि समेत सामुदायिक घरदैलो स्वास्थ्य सेवा सहयोगसिद्ध हुने समेत बताउनुभयो । 

चन्द्रागिरि नगरपालिकाले सामुदायिक स्वास्थ्य घरदैलो कार्यक्रम सञ्चालनका लागि एक जना सामुदायिक स्वास्थ्य अधिकृत तथा नगरका सबै १५ वटै वडाहरूमा एक-एक जना सामुदायिक नर्स खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गरेको हो ।

नेपालमा हालसम्म चन्द्रागिरि नगरसहित भक्तपुर नगरपालिका र बर्दिबास नगरपालिकामा मात्रै सामुदायिक स्वास्थ्य घरदैलो कार्यक्रम सञ्चालन भएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *