खानेपानी क्षेत्रलाई डिजिटलाईज गर्न कार्यशाला हुँदै, काठमाडाैंबाट चन्द्रागिरिको महादेवस्थान खानेपानी समिति छनोट

Thankot Times

थानकोट ।

उर्जा र खानेपानी क्षेत्रलाई डिजिटलाईज गर्दै प्रविधि मार्फत थप परिस्कृत गर्नका लागि एकदिने कार्यशाला गोष्ठी आयोजना हुने भएको छ ।

शहरी सेवा प्रबन्धका चुनौतिहरूलाई ध्यानमा राख्दै, जिएसएमए डिजिटल उपयोगिता कार्यक्रम, दियालो टेक्नोलोजिज, घामपावरको सहकार्यमा “नेपालमा शहरी खानेपानी तथा उर्जा सेवा  स्तरीकरण” विषयक कार्याक्रम आगामी माघ २४ गते हुन लागेको हो ।

विगत केही दशकहरूमा नेपालमा पनि तीव्र सहरीकरणको अनुभव गरिरहेको बेला यसका नकरात्मक प्रभावको रूपमा खानेपानी र उर्जा जस्ता अत्यावशयक सेवा प्रवाहमा विभिन्न खालका अवरोध सिर्जना भएका छन् ।

फलस्वरुप शहरी योजना र सेवा विस्तारका लागि चुनौतीहरू थपिएका छन् । युनिसेफ तथा डब्लुएचओका अनुसार नेपालको शहरी जनसंख्याको २५ प्रतिशतमा मात्र सुरक्षित रूपमा व्यवस्थित खानेपानी सेवामा पहुँच पुगेको छ ।

नेपालको ९४ प्रतिशत शहरी जनसंख्याको बिजुलीमा पहुँच छ भने ७२ प्रतिशत जनसंख्यामा मात्र भरपर्दो, किफायती र निर्वाद बिजुलीको पहुँचमा रहेको तथ्यांक छ । विश्व बैंकको उद्यम सर्वेक्षण अनुसार नेपालका दुई तिहाइ व्यवसायिक संस्थाहरूले विद्युतको अव्यवस्थालाई व्यवसाय विस्तारमा मुख्य बाधाको रूपमा पहिचान गरेका छन् ।

देशको ऊर्जा क्षेत्र पनि सहरी क्षेत्रमा बढ्दो मागलाई समायोजन गरी दिगो, भरपर्दो र किफायती सेवाप्रवाहका लागि संघर्ष गरिरहेको अवस्था छ ।

जिएसएमए डिजिटल उपयोगिता कार्यक्रमको उद्देश्य आधुनिक प्रविधि र नवीन साझेदारीमार्फत किफायती, भरपर्दो, सुरक्षित र दिगो रुपमा उर्जा, खानेपानी, सरसफाइ, फोहोर व्यवस्थापन र यातायातजस्ता शहरी उपयोगिता सेवाहरू जनताको पहुँचमा पुर्याउनु हो । यसले न्यून र मध्यम आय भएका देशमा शहरहरूलाई जनसंख्या वृद्धि, जलवायु परिवर्तन र असमानता सम्बन्धी चुनौतीहरूको सामना गर्न सहयोग गर्दछ ।

कार्यक्रममा सार्वजनिक र निजी क्षेत्रका प्रमुख सरोकारवालाहरूका साथै लगानीकर्ताहरू र संस्थाहरूलाई आधुनिक प्रविधि र नवीन साझेदारीहरूमार्फत सहरी सेवा प्रवाहमा स्तरीकरण गर्न सक्षम बनाउनेछ ।

यसअघि लाओस, किगाली र इस्लामावादमा सम्पन्न यस्तै प्रकारका कार्यक्रमहरु फलदायी भएको महसुस गरिएको आयोजकको भनाई छ । यसले निजी क्षेत्र र सार्वजनिक क्षेत्रहरूबीच दिगो साझेदारीको लागि मार्गहरू प्रदान गरेको छ ।

यस कार्यशाला शहरी ऊर्जा र खानेपानी सेवामा सर्वसाधारणको पहुँचलाई किफायती, भरपर्दो, सुरक्षित र दिगो बनाउने चुनौतिहरूमा केन्द्रित रहनेछ ।

कार्यशालामा नेपालमा शहरी ऊर्जा र खानेपानीको  सेवाप्रवाहमा वर्तमान चुनौतीहरू बुझ्न, सस्तो र पहुँचयोग्य ऊर्जा तथा  सुरक्षित खानेपानीका क्षेत्रमा काम गर्ने नेपालका सरोकारवालाहरूसँग साझेदारी विकास गर्न र आपसी समझदारीका क्षेत्रहरू पहिचान गर्न, पहुँचयोग्य र किफायती ऊर्जा र सुरक्षित खानेपानीका लागि यस क्षेत्रमा कार्यरत विभिन्न सरोकारवालाहरूको विचार र दृष्टिकोण साझा गर्न तथा  कम र मध्यम आय भएका देशहरूमा उत्कृष्ट अभ्यासहरू र अनुभवबाट खानेपानी र ऊर्जामा सार्वजनिक तथा निजी साझेदारीलाई स्पष्ट बनाउने विषयमा केन्द्रित हुनेछ ।

कार्यक्रममा नेपालका खानेपानी तथा ऊर्जा विभागका बीस भन्दा बढि वरिष्ठ सरकारी अधिकारीहरू, जल तथा ऊर्जा क्षेत्रमा काम गर्ने संस्थाहरू र जिएसएमएले सहयोग गरेका संस्थाहरु सहभागी हुनेछन् ।

यसमा दियालो टेक्नोलोजिज, घामपावर तथा इसेवा,  जियोकृषि, र प्राक्टिकल एक्सन आदि संस्थाहरुको सहभागिता रहनेछ । कार्यक्रम बन्दसत्र प्रकृतिको रहनेछ र यसमा शहरी परिवेशमा खानेपानीको र ऊर्जा सेवाका लागि नविन प्रविधिको प्रयोग तथा साझेदारीको भूमिकामा छलफल गर्न प्रमुख सरोकारवालाहरूसँग गोलमेच सभा तथा प्यानल छलफल हुनेछ ।

यस कार्यशाला मार्फत जिएसएमए डजिटल उपयोगिता टोली र यसका साझेदारहरू, दियालो टेक्नोलोजिज र घाम पावर मार्फत शहरी क्षेत्रमा ऊर्जा र खानेपानी सेवाहरू स्तरीकरण गर्न डिजिटल समाधान र साझेदारीको सम्भावनाको बारेमा चेतना जगाउने आशा राखिएको छ ।

साथै, यस कार्यक्रमले नेपाल र बृहत्तर क्षेत्रमा नवीन प्रयोगहरू तथा सेवा वितरणका मोडेलहरू चलाउन सक्ने संस्थाहरू, सरकार, निजी क्षेत्र र सम्बन्धित संस्थाहरूबीच सान्दर्भिक साझेदारीको लागि साझा मञ्च सिर्जना गर्ने आशा पनि गरिएको छ ।

सो कार्यशालामा चन्द्रागिरि नगरपालिकास्थित महादेवस्थान-मातातीर्थ खानेपानी तथा सरसफाई आयोजनाले पनि प्रतिनिधित्व गर्ने जनाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *