भूकम्पले बाजुराका ४२ परिवार पूर्ण रूपमा विस्थापित, चार सय घरमा क्षति

Thankot Times

थानकोट ।

बाजुरामा मङ्गलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव नौ रेक्टरको भूकम्प जाँदा हालसम्म ४२ परिवार पूर्ण रूपमा विस्थापित भएका छन् । भूकम्पबाट तीन पालिकाका ती परिवार विस्थापित भएका हुन् । 

भूकम्पले हिमाली गाउँपालिकाका १२, गौमुल गाउँपालिकाका १५ र बडीमालिका नगरपालिकाका १५ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । बडीमालिकाका १२, हिमालीका चार र गौमुलका १४ परिवार आफन्तकहाँ  बसेका छन् । भूकम्पले घर चर्किएका र बस्ने अवस्थाका नभएकाले पाँच परिवार त्रिपालको सहारामा छन् । 

भूकम्पपछि त्रिपालको सहारामा बडीमालिकाका एक, गौमुलका एक र हिमालीका तीन परिवार रात काट्न बाध्य छन् । बडीमालिकाको एउटा परिवार मन्दिरमा बास बस्न थालेको थापाले बताए । 

चार सय घरमा क्षति 

भूकम्पका कारण झण्डै चार सय घरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले  सङ्कलन गरेको क्षतिको विवरणानुसार सबैभन्दा बडीमालिका नगरपालिकामा क्षति भएको छ । भूकम्पले बडीमालिकामा २१, बूढीनन्दामा तीन र बूढीगङ्गामा एक घर पूर्ण रूपमा क्षति भएका छन् भने हिमालीमा १९, गौमुलमा ११, खप्तड छेडेदहमा चार, स्वामीकार्तिक खापर गाउँपालिकामा एक गरी ६० घर पूर्ण रूपमा क्षति भएको डीएसपी थापाले बताए । बडीमालिकामा ३१, बूढीनन्दामा नौ, हिमालीमा नौ, खप्तड छेडेदह पाँच र गौमुलमा पाँच घरमा आंशिकरूपमा क्षति पुगेको छ ।

रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *