५२ प्रतिशत नेपाली घरपरिवार सिमेन्टले जोडेको घरमा बस्छन्
थानकोट ।
राष्ट्रिय जनगणना २०७८ को आँकडा अनुसार ५२ दशमलव २ प्रतिशत परिवार सिमेन्टको जोडाई भएको घरमा बस्ने नतिजा सार्वजनिक भएको छ ।
केन्द्रीय तथ्याङ्क विभागले गत वर्ष गरेको सर्वेक्षणको नतिजा शुक्रबार सार्वजनिक गरेको हो । सो आँकडा अनुसार सिमेन्टको जोडाई भएको इँटा वा ढुङ्गा प्रयोग गरेर बनाएको घरमा सबैभन्दा धेरै परिवार सङ्ख्या बस्ने गरेका छन् ।
माटोको जोडाई भएको इँटा वा ढुङ्गाको गारो लगाएको घरमा ३० दशमलव ७ प्रतिशत, बाँसजन्य सामग्रीबाट बनाइएको घरमा ११ दशमलव ७ प्रतिशत, काठ वा फल्याक प्रयोग गरेर बनाइएको घरमा ३ दशमलव २ प्रतिशत, जस्ता, टिन, च्यादर प्रयोगबाट बनाइएको घरमा १ दशमलव २ प्रतिशत, प्रिफ्याव घरमा शून्य दशमलव शून्य ३ प्रतिशत परिवार र अन्य प्रकारका सामग्री प्रयोग गरिएको घरमा शून्य दशमलव ६ प्रतिशत परिवार बस्ने गरेको आँकडा सार्वजनिक गरिएको छ ।











