गोकर्णेश्वरमा गजल प्रतियोगिता, आठजनाले पुरस्कार पाउने, विजेतालाई ६० हजार
थानकोट ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले बृहत् गजलवाचन तथा गायन प्रतियोगिताको आयोजना गर्दै छ । आउँदो वैशाख २३ गते शनिबारका दिन प्रतियोगिता गर्न लागिएको हो ।
एक सूचना प्रकाशित गर्दै नगरपालिकाले प्रतियोगिताका लागि इच्छुक गजलकारबाट नितान्त मौलिक, प्रकाशन तथा प्रसारण र गायन रेकर्ड नगरिएको गजल माग गरेको छ । गजल बढीमा सात शेरसम्मको हुनुपर्नेछ ।
कागजको एकातर्फ मात्र स्पष्ट बुझिने गरी लेखिएको वा टाइप गरिएका मौलिक गजल रचना इमेल [email protected] मा एकप्रति फोटो, फोन नम्बर र बसोबास गरिएको ठेगाना समेत स्पष्ट खुलाई पठाउनुपर्नेछ । गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा (०१–४९१२१४०) मा गएर समेत दर्ता गराउन सकिनेछ । गजल वैशाख १५ भित्र पठाइसक्नुपर्ने नगरपालिकाले जनाएको छ ।
प्राप्त रचनालाई विज्ञ समूहद्वारा मूल्याइन गराई बढीमा ४० रचना छनोट गरिनेछ । ती गजलवाचन तथा गायन गराइनेछ र विजेता घोषणा गरिनेछ ।












