वैशाख १० गतेको उपनिर्वाचनका दिन मनकामना केबुलकार बन्द गर्न जिल्ला प्रशासनको अनुरोध

Thankot Times

थानकोट । 

आसन्न उपनिर्वाचनका दिन मनकामना केबुलकार सेवा स्थगित हुने भएको छ । 

जिल्ला प्रशासन कार्यालय चितवनले केबुलकार प्रशासनलाई पत्र लेख्दै वैशाख १० गते आइतबार चितवन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनलाई लक्षित गर्दै सो दिन केबुलकार सेवा स्थगित गर्न अनुरोध गरेको हो । 

जिल्ला सुरक्षा समिति चितवनको बैठकले निर्वाचनका बखत मनकामना केबुलकार सञ्चालन गर्दा भिड एकत्रित भई सुरक्षा संवेदनशिलता बढ्ने हुँदा उक्त दिन केबुलकार सञ्चालन नगर्न पत्र काटेको मनकामना केबुलकार प्रालिका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
कुरिनटारस्थित मनकामना केबुलकारको बटम स्टेशन चितवन जिल्ला क्षेत्र नं. २ अन्तर्गत पर्दछ ।

यसैबीच मनकामना केबुलकारले बैशाख १० गते हुने उपनिर्वाचनका दिन सेवा बन्द रहने जनाएको छ । शुक्रबार बिहान सामाजिक सञ्जालमा एक सूचना प्रकाशित गर्दै केबुलकार प्रशासनले जिल्ला प्रशासन कार्यालयको अनुरोध अनुसार सो दिन केबुलकार सेवा बन्द रहने जनाएको हो  ।

वैशाख ११ गतेबाट भने केबुलकार सेवा नियमित रूपमा सञ्चालन हुने मनकामना केबुलकारले जनाएको छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *