काठमाडौंमा पर्न थाल्यो पानी, दिनभर वर्षाको सम्भावना

Thankot Times

थानकोट ।

देशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेशलगायत स्थानमा वर्षा भइरहेको छ ।

काठमाडौंमा पनि पानी पर्न सुरु गरेको महाशाखाका मौसमविद् बिनु महर्जनले बताइन् ।

उनका अनुसार आज देशैभर वर्षाको सम्भावना छ ।

काठमाडौंमा पनि दिनभरजसो वर्षा हुने उनले जानकारी दिइन् । तर, निरन्तर पानी नपर्ने उनले बताइन् । “आज दिनभैरजसो वर्षा हुने देखिन्छ । तर, निरन्तर पर्दैन । पर्ने, रोकिने भइरहने देखिन्छ,” उनले बाह्रखरीसित भनिन् ।

आज मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताइन् । उनका अनुसार राति पनि पानी पर्ने सम्भावना छ ।

“आज दिउँसोको समयमा पानी पर्ने सम्भावना बढी छ,” उनले भनिन्, “राति पनि वर्षा हुने सम्भावना छ ।”

अझै तीन दिन देशभर मौसम बदली हुने उनले जानकारी दिइन् । “तीन दिन बादल लाग्ने र वर्षा पनि हुने देखिन्छ । क्षणिक वर्षाको सम्भावना छ,” उनले भनिन्, “देशैभर आंशिकदेखि सामान्य बदली हुनेछ ।”

आज काठमाडौंमा अरू समयको तुलनामा दिउँसो पानी पर्ने सम्भावना बढी रहेको उनले बताइन् ।

हाल देशमा पश्चिमी र स्थानीय वायुको संयुक्त प्रभाव रहेको महाशाखाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *