पुलको मुखमा जमिन भासिएपछि पृथ्वी राजमार्ग अवरूद्ध, राजमार्ग सुचारू गर्ने प्रयास जारी
थानकोट ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गणेशखोलामा रहेको पुलको मुख भासिएपछि सो राजमार्गमा यातायात सञ्चालन अवरूद्ध भएको छ।
सोमबार अपरान्ह ४ बजे पुलको मुखमै जमिन भासिएपछि अहिले सवारी साधन रोकिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले जानकारी दिए।
पुलको मुखमा जमिन भासिएपछि अहिले उक्त ठाउँमा भर्ने काम भइरहेको छ।
नागढुंगा-मुग्लिन सडक योजना पूर्वी खण्डका इन्जिनियर जयराम अधिकारीका अनुसार पुलको संरचनामा कुनै क्षति भएको छैन्।
‘पुलको संरचनामा क्षति भएको छैन्। मुखमा जमिन भासिएको हो। हामी अहिले त्यो ठाउँलाई ग्याबिन लगाएर पुर्न लागिरहेका छौं,’ अधिकारीले भने,‘तीन/चार घन्टामा एकतर्फी सडक सञ्चालन गर्ने गरी काम भइरहेको छ।’
भासिएको ठाउँ पुरेपछि एकतर्फी सवारी चलाउन सकिने उनले बताए।
‘त्यसपछि दुईतर्फी सवारी चलाउन के गर्नुपर्छ हामी हेर्दैछौं,’ उनले भने।












