नगरको ५५ लाख रुपैयाँ वडाध्यक्षको व्यक्तिगत खातामा
थानकोट ।
फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने नाममा पोखरा महानगरपालिकाले वडा नम्बर ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीको व्यक्तिगत बैंक खातामा ५५ लाख रूपैयाँ पठाएको छ।
महानगरले फोहोरमैला प्रशोधन केन्द्रका लागि जग्गा खरिद गर्न भनेर व्यक्तिगत खातामा उक्त रकम पठाएको हो।
विकास निर्माणको बजेट सिधै जनप्रतिनिधिको व्यक्तिगत खातामा पठाउन नहुने कानूनी प्रावधान छ।
महानगरका एक अधिकारीका अनुसार यसअघि कहिल्यै पनि कुनै पनि जनप्रतिनिधिको व्यक्तिगत खातामा विकास बजेट पठाइएको छैन्।
उनले विकासको बजेट जनप्रतिनिधिको व्यक्तिगत खातामा पठाउनु सरासर भ्रष्टाचार हुने बताए।
गत पुस २५ गते भएको महानगर कार्यपालिकाको बैठकले वडाध्यक्ष अधिकारीको खातामा उक्त रकम पठाउने निर्णय गरेको थियो।
महानगर प्रशासन शाखाले कार्यपालिकाको निर्णयअनुसार ‘फोहोरमैला प्रशोधन तथा जग्गा व्यवस्थापन’ का लागि वडाध्यक्षलाई पेस्की स्वरूप ५५ लाख रकम रुपैयाँ दिएको व्यहोरामा उल्लेख गरेको सेतोपाटीमा खबर छ।
प्रशासन शाखाका अनुसार महानगरको आन्तरिक स्रोतबाट व्यहोर्ने गरी उक्त रकम निकासा गरिएको हो।












