किन पटकपटक चर्चामा आइरहन्छ मातातीर्थ जग्गा काण्ड ?

Thankot Times

थानकोट ।

‘मातातीर्थ जग्गा काण्ड’ का सन्दर्भमा संसद् मा समेत कुरा निस्किरहन्छ । प्रमुख दलका शीर्ष तहका नेताहरूले यस विषय पछिल्लो समय पटक पटक लिइरहेका छन् ।

मातातीर्थको जग्गा घोटला प्रकरण छानबिन गर्न एमाले बास्कोटाको चुनाैती

मातातीर्थको जग्गा घोटला प्रकरण छानबिन गर्न एमाले बास्कोटाको चुनाैती

नेपाल ट्रस्टको मातातीर्थ, महादेवस्थान, थानकोट, सतुंंगल र इचंगुनारायणमा रहेको १ सय ७३ रोपनी जग्गा व्यक्ति (मोही) का नाममा वितरण गरिएका छन्।

बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला मालपोत कार्यालय कलंकीले २०७० असार ७ गते ती जग्गामा मोही कायम गराएको थियो। त्यतिबेला सबैभन्दा बढी साबिक थानकोट र महादेवस्थान गाविसमा रहेको ट्रस्टको १ सय २ रोपनी ३ आना जग्गा मोहीका नाममा कायम गरिएको थियो।

त्यस्तै, मातातीर्थको ५९ रोपनी १ आना ३ पैसा, सतुंगलको १ रोपनी ६ आना १ पैसा र बालाजु (इचंगु)को १० रोपनी ६ आना १ पैसा जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता गरिएको थियो। मन्त्रिपरिषद्बाट निर्णय गरी मालपोत कार्यालयमार्फत ती जग्गा मोहीका नाममा व्यक्तिलाई वितरण गरिएका थिए। त्यतिबेलाको मन्त्रिपरिषद् बैठकले जग्गासम्बन्धी तीनवटा कानुन तथा नियमावली उल्लेख गर्दै त्यस्ता प्रकृतिका अधिकांश जग्गा मोही-जोताहाका नाममा दर्ता भइसकेको निष्कर्ष निकालेको थियो।

मन्त्रिपरिषद्का तत्कालीन सचिव जयमुकुन्द खनालले २०६९ भदौ ३ मै ट्रस्टका नाममा दर्ता भएका तत्कालीन राजपरिवारका विभिन्न सदस्यका नाममा रहेका साबिकका ‘फर्मायसी बिर्ता’ जग्गा सम्बन्धित जग्गा कमाउने जोताहा-मोहीका नाममा दर्ता गर्नुपर्ने भन्दै मन्त्रिपरिषद् मा प्रस्ताव पेस गरेका थिए। नेपाल ट्रस्ट ऐन, २०६४ अनुसार ट्रस्टको नाममा रहेका जग्गामा स्वतः ट्रस्टको हक कायम हुन्छ। मालपोत कार्यालय, कलंकीको अभिलेखले २०६४ सालताका ती सबै जग्गा ट्रस्टकै नाममा रहेको पनि देखाउँछ।

तर, मन्त्रिपरिषद्को निर्णयमा ट्रस्टको जग्गामा मोही खडा गरेर जग्गा वितरण गरिएका थिए। नेपाल ट्रस्ट ऐनको दफा १३ मा ‘ट्रस्टको सम्पत्ति बिक्रीवितरण र भोगाधिकार गर्नमा प्रतिबन्ध हुने’ व्यवस्था छ। ऐनविपरीत मोही कायम गरेर व्यक्तिको नाम दर्ता गरिएको छ। विशेष अदालतका पूर्वअध्यक्ष मोहनरमण भट्टराई नेतृत्वको सरकारी सार्वजनिक तथा गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगमा ट्रस्टको जग्गा हिमामिनासम्बन्धी उजुरी पनि परे। थाहै नदिई गैरकानुनी रूपमा मोहीका नाममा ट्रस्टको जग्गा वितरण गरिएको उजुरीमा दाबी गरिएको थियो।

तर, आयोगले कामै नगरेपछि ट्रस्टको जग्गा हिनामिनासम्बन्धी छानबिन प्रक्रिया पनि अघि बढेन। यो जग्गा अहिले घरै घर छन्।

पूर्वराजा वीरेन्द्र र उनको परिवारका नामको २१ हजार ६ सय ३३ रोपनी जग्गा नेपाल ट्रस्टमा आएको थियो। चल सम्पत्ति १.०२ अर्ब छ। ती जग्गा सदुपयोग हुन नसक्दा बेवारिसे बनेको छ। काठमाडौंको ४ हजार ५ सय १३ रोपनी ७ आना र धादिङको १५ हजार १ सय १ रोपनी ११ आना २ पैसा १ दाम ट्रस्टको नाममा आएको हो। यो जग्गाको सदुपयोग हुन सकेको छैन्। कतै अतिक्रमण नै भएको छ कतिपय अति सस्तोमा लिज र भाडामा दिइएको छ। गोकर्ण रिसोर्ट लगायतको लिज, भाडामा विषय विवादमा छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *