साँखु खानेपानीको अध्यक्षमा राप्रपा प्यानल सबै पदमा विजयी, ठूला दलको संयुक्त प्यानल पराजित

Thankot Times

थानकोट ।

शंखरापुर नगरपालिकामा रहेको साँखु खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको अध्यक्षमा राप्रपा निकट दिनेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । भदौ ५ गतेदेखि ९ गतेसम्म भएको निर्वाचन प्रक्रियाबाट समितिको कार्यसमितिमा श्रेष्ठको पुरै प्यानल निर्वाचित भएको हो ।

कांग्रेस, एमाले, नेकपा एस, माओवादी केन्द्र, रास्वपा र राप्रपाको एउटा गुटलाई पराजित गर्दै श्रेष्ठको प्यानलले जित हासिल गरेको हो । राप्रपाबाट उम्मेदवार रहेका श्रेष्ठलाई पराजित गर्न राप्रपा शंखरापुर नगरअध्यक्ष र वडा नम्बर ७ का संयोजक सहितको गुट समेत कांग्रेस एमाले सहितको गठबन्धनमा खुलेर लागेको राप्रपाका कार्यकर्ताले बताएका छन् ।

राप्रपा समर्थित श्रेष्ठ ४४० मत पाएर विजयी हुँदा कांग्रेस, एमाले लगायतका शंखरापुरका अन्य साना दलहरूको समर्थनमा उम्मेदवार रहेका गोविन्दबहादुर श्रेष्ठले ३१० मत पाएका छन् । अध्यक्ष श्रेष्ठको प्यानलबाट उपाध्यक्षमा जयराम श्रेष्ठ, सचिवमा रामकृष्ण माली, कोषाध्यक्षमा गङ्गादेवी श्रेष्ठ, सदस्यहरूमा चन्द्रनारायण श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, गङ्गालाल श्रेष्ठ, भीम शाही, रम्बिका श्रेष्ठ, शान्ता श्रेष्ठ, राज्यलक्ष्मी मानन्धर निर्वाचित भएका छन् ।

उपभोक्ता समितिमा ८२१ मतदाता रहेकोमा ७८६ जना मतदान प्रक्रियामा सहभागी भएका थिए । साँखु खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्वाचनलाई स्थानीय राजनीतिक दलहरूले स्थानीय तहको मिनी निर्वाचनको रूपमा समेत बुझ्ने गरेका छन् । यसअघिको कार्यसमितिमा पनि दिनेशलाल श्रेष्ठ नै निर्वाचित भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ