छैठाैं नैकाप गोल्डकपः बीबी गोर्खाज र गोल्डस्टार तथा वीआर ब्रदर्श र गणेशमान स्मृतिबीच खेल हुँदै
थानकोट ।
नैकाप फुटबल मैदानमा जारी नैकाप गोल्डकप फुटबल प्रतियोगिताको छैठाैं संस्करणअन्तर्गत आज बिहीबार पनि २ खेल हुने तालिका रहेको छ ।
आज हुने खेलका विजेता टोलीहरू पनि अन्तिम ८ का लागि छनोट हुनेछन् ।
प्रतियोगिता अन्तर्गत आज पुल बी मा रहेका वीआर ब्रदर्श फुटबल क्लब र गणेशमान स्मृति फुटबल क्लबबीच खेल हुनेछ ।
यी दुई बीचको खेलको विजेताले पर्सी शनिबार क्वाटरफाइनलमा न्यू चन्द्रसूर्य यूथ क्लबको सामना गर्नेछ । न्यू चन्द्रसूर्य प्रतियोगिताको तेस्रो चरणका लागि सिधै चयन भएको हो, उसले पहिलो चरणमा सन्तोष फुटबल क्लबको चुनाैती पन्छाएको थियो ।
वीआर ब्रदर्श फुटबल क्लबले पहिलो चरणमा दिपशिखा युवा समुहलाई तथा गणेशमान स्मृति फुटबल क्लबले मनकामना फुटबल क्लबलाई पराजित गर्दै दोश्रो चरणमा स्थान पक्का गरेका थिए ।
प्रतियोगिता अन्तर्गत आज नै हुने दिनको दोश्रो खेल तथा दोश्रो चरणका अन्तिम खेलमा पुल डी मा रहेका गोल्डस्टार यूथ क्लब र बीबी गोर्खाज आमुने सामुने हुँदैछन् ।
पहिलो चरणमा गोल्डस्टारले सिधै बाइ पाउँदा दोश्रो चरणमा छनोट भएको थियो भने बीबी गोर्खाजले गणेशदेवी यूथ क्लबलाई पराजित गर्दै दोश्रो चरणका लागि छनोट भएको थियो ।
प्रतियोगिता अन्तर्गत भोलि कार्तिक १७ गते शुक्रबार २ वटा क्वाटर फाइनल खेल हुनेछन् भने बाँकी २ वटा क्वारटर फाइनल खेल पर्सि कार्तिक १८ गते हुनेछन् ।
चन्द्रागिरि स्पोर्ट्स एकेडेमीको आयोजनामा जारी छैठाैं नैकाप गोल्डकप प्रतियोगिताको विजेताले ५ लाख रूपैयाँ पुरस्कार पाउनेछ ।













