टी-२० विश्वकप कपकाे एसिया क्षेत्र छनोट: नेपालले आज ओमानसँग खेल्दै
थानकोट ।
आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज बिहीबार ओमानसँग खेल्दैछ ।
खेल बिहान ९ बजे त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।
समूह ‘ए’ मा रहेका दुवै टिम सेमिफाइनल प्रवेश गरिसकेका छन् । यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ । समूहका अघिल्ला खेलमा दुवै टोलीले सिंगापुर र मसेसियालाई पराजित गरेका थिए ।
घरेलु टोली लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा हुनेछ ।
नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेख राम्रो लयमा छन् ।
कुशल मल्ल र सन्दीप जोराको प्रदर्शन नेपालको लागि निकै महत्वपूर्ण हुनेछ । दीपेन्द्र सिंह ऐरी नहुँदा यी दुई ब्याटरमा अतिरिक्त जिम्मेवारी थपिएको छ । नेपालका लागि कप्तान रोहित पौडेल लयमा फर्कनु आवश्यक हुनेछ ।
सोमपाल कामी, करण केसी र गुलशन झाबाट नेपालले राम्रो अलराउण्ड प्रदर्शनको अपेक्षा गरेको छ । विवेक यादव घरेलु क्रिकेटमा राम्रो अलराउन्डर हुन् । अभिनाश बोहराले नेपालको डेथ ओभर सम्हाल्ने छन् ।
आज नै हुने समूह एको अन्तिम खेलमा समूह मलेसिया र सिंगापुर प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताबाट बाहिरिसकेका दुवैका लागि सुखद अन्त्य गर्ने मौका हो । युएई र हङकङ तथा बहराइन र कुवेत पनि आज नैेु आमने सामने हुनेछन् ।
यो खेलपछि मात्र समूह बीबाट अन्तिम चारमा पुग्ने टिमको टुंगो लाग्नेछ ।












