छैठौं नैकाप गाेल्डकप फुटबल प्रतियोगिता: आज क्वाटरफाइनलका दुई खेल हुँदै
थानकोट ।
चन्द्रागिरि स्पोर्टस् एकेडेमीको आयोजनामा चन्द्रागिरि नगरपालिका १४ नैकापस्थित नैकाप फुटबल मैदानमा जारी छैठौं नैकाप गाेल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेल आज शुक्रबारदेखि सुरु हुँदैछ ।
याे क्रम भाेलि शनिबार पनि जारी रहनेछ ।
कार्तिक २२ गते प्रतियोगिताको सेमीफाइनलका दुवै खेल हुनेछन् भने कार्तिक २५ गते यमपञ्चकको दोश्रो दिन उपाधि छिनोफानो हुनेछ ।
प्रतियोगिता अन्तर्गत हिजाे बिहीबार सम्पन्न दाेश्राे चरण अन्तर्गतका अन्तिम २ खेलमा जित हात पार्दै क्रमश गाेल्डस्टार र हामी दाजुभाइ अन्तिम ८ मा स्थान सुरक्षित गर्न सफल भएका छन्।
प्रतियोगिताकाे पहिलाे क्वाटरफाइनलमा आज दिउँसो १ बजे कुर्दन फुटबल एकेडेमी र साबिक उपविजेता ब्लुबेल एफसीबीच खेल हुनेछ । कुर्दन प्रि-क्वाटरफाइनलमा विजयपुर युथकाे चुनाैती पन्छाउँदै अन्तिम ८ मा प्रवेश गरेको हाे भने ब्लुबेेल दाेश्राे चरणपछि सिधै क्वाटरफाइनलका लागि छानिएको थियो ।
यसैगरी दाेस्राे क्वाटरफाइनलमा दिउँसो ३ बजे मध्यपुर जागरुक युवा क्लब र वाणस्थली यूथ साेसाइटी बीच खेल हुनेछ ।
वाणस्थली अन्तिम १६ काे खेलमा वार्सा नेपाल तथा मध्यपुर क्लिन भिजन युनिटिमाथि जित हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेका थिए ।
प्रतियोगिताको विजेताले पाँच लाख रूपैयाँ नगद पुरस्कार पाउँदा प्रतियोगिताको उपविजेता हुनेले दुई लाख पचास हजार रूपैयाँ नगद पुरस्कार पाउनेछ ।
प्रतियोगिताका दुई सेमिफाईनलिष्ट टोलीले ५०-५० हजार रूपैयाँ प्रोत्साहन रकम हात पार्नेछन् ।
यसैगरी व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, डिफेन्डर, गोलरक्षक, प्रशिक्षक र उच्च गोलकर्ताले जनही १५,००० रूपैयाँ नगद पुरस्कार हात पार्नेछन्।
प्रतियोगिताका हरेक खेलका उत्कृष्ठ खेलाडीले २ हजार रूपैयाँ नगद पुरस्कार तथा ट्रफी पाउनेछन् ।
गत वर्षबाट प्रदान गर्न सुरु गरिएको चन्द्रागिरि स्पोर्टस् अवार्डले यसपटक पनि निरन्तरता पाउने भएको छ । चन्द्रागिरि नगर क्षेत्रका विभिन्न खेलमा सक्रिय खेलाडी वा प्रशिक्षकमध्ये सर्वाधिक सफल खेलाडी वा योगदानकर्ता प्रशिक्षकलाई प्रदान गरिने सो अवार्डको पुरस्कार राशी ५० हजार रूपैयाँ रहनेछ । गत संस्करणमा भलिबल स्टार प्रतिभा मालीले यो सम्मान प्राप्त गरेकी थिइन् ।
पाँचाै संस्करणमा ब्लुबेल एफसीलाई स्तब्ध बनाउँदै तारकेश्वर युथ क्लबले उपाधी चुमेको थियो । तारकेश्वर चाैथों संस्करणको पनि डिफेन्डिङ च्याम्पियन थियो । यसपटक भने तारकेश्वर पहिलो चरणबाट घर फर्किएको छ ।












