बागमती प्रदेश सभा बैठक ठप्प, माघमा आह्वान गर्ने सरकारको रणनीति
थानकोट ।
बागमती प्रदेशसभा बैठक ठप्प भएको छ ।
विगत २ महिनादेखि प्रदेशसभा बैठक बस्न नसकेको हो। प्रदेशसभाको वर्षे (बजेट) अधिवेशन अन्तर्गत गत असोजमा बसेको प्रदेशसभाको बैठक त्यस यता आह्वान हुन सकेको छैन्।
प्रदेश सरकारले गत असोज २४ गते राति १२ बजेबाट बजेट (वर्षे) अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष सिफारिस गरेको थियो ।
उक्त सिफारिसका आधारमा प्रदेश प्रमुख शर्माले अधिवेशन अन्त्य गरेका थिए । वर्षे अधिवेशन अन्त्य गरिएको २ महिनासम्म पनि प्रदेश सरकारले हिउँदे अधिवेशनको आह्वान नगरेको हो ।
प्रदेशसभा बैठक आह्वान नहुँदा विषयगत समितिहरू समेत निष्क्रिय बनेका छन् । संसद् आह्वान नहुँदा विषयगत समितिका बैठकहरू निष्क्रिय बन्न पुगेको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।
संसदकै छेका पारेर बस्ने गरेको विषयगत समितिहरुको बैठक समेत २ महिनादेखि बस्न नसकेको सचिवालयको भनाई छ । विषयगत समितिको बैठक नबस्दा प्रदेशसभाबाट छलफलका लागी पठाइएका विधेयकहरू होल्ड भएका छन् ।














