राष्ट्रिय सभा निर्वाचन: आजदेखि प्रचारप्रसार निषेध, बागमती प्रदेशमा २ मतदान केन्द्र
थानकोट ।
निर्वाचन आयोगले राष्ट्रियसभाको १९ सदस्यका लागि यही फागुन ११ गते हुने निर्वाचनअन्तर्गत आजदेखि मतदानकार्य समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि कायम गरेको छ ।
प्रचारप्रसार कार्य गर्न रोक लगाइएको अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृसङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न हुँदैन ।
योगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा शेयर गर्न वा गराउन नहुने भएकाले सोबमोजिम आचरण पालना गर्न गराउन अनुरोध गरेका छन् ।
राष्ट्रियसभाका १९ सदस्यको पद आगामी फागुन २१ गतेदेखि सकिँदैछ । कार्यकाल सकिनु एक महिनाअघि निर्वाचन गरिनुपर्ने कानुनी व्यवस्था रहेको छ ।
बागमती प्रदेशमा २ मतदान केन्द्र
राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशतर्फको तयारी लगभग पूरा भइसकेको छ । निर्वाचनका लागि हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको नयाँ भवनलाई प्रयोग गर्ने तयारी छ ।
उक्त मतदान स्थलमा २ वटा मतदान केन्द्र स्थापना गर्ने गरी तयारी गरिएको निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए । निर्वाचनमा लागि मतदान स्थलको अनुगमन गरी आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापकीय कार्यका लागि समेत निर्णय भइसकेको उनको भनाइ छ ।














