राष्ट्रिय सभा निर्वाचनमा आज मतदान, मतदानका लागि चन्द्रागिरिका मेयर तथा उपमेयर हेटाैंडामा
थानकोट ।
राष्ट्रिय सभा सदस्यको १९ पदका लागि आज मतदान हुँदै छ। सात प्रदेशमा १९ पदका लागि आठ राजनीतिक दलबाट उम्मेदवारले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
नेकपा (एमाले) बाट १९ पदमा उम्मेदवार छन् भने नेपाली कांग्रेसका १०, नेकपा (माओवादी केन्द्र) का छ, नेकपा (एकीकृत समाजवादी) का दुई र जनता समाजवादी पार्टीका एक जना उम्मेदवार छन् । त्यस्तै जनमत पार्टीका दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सात र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का चार जना उम्मेदवार छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमबमोजिम बिहीबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने छ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलका सबै मतदाताहरू गोप्य मतदानद्वारा आफूले रोजेको र चाहेको उम्मेदवारलाई मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
प्रदेश सभा सदस्यतर्फ ५४९ मतदाता छन्। पालिकातर्फ एक हजार ४९८ मतदाता छन् । यसरी राष्ट्रिय सभा सदस्य निर्वाचनमा कुल दुई हजार ४७ जना मतदाताले १९ सदस्यलाई निर्वाचित गर्ने छन्। प्रदेश सभा सदस्यको मतभार ५३ र पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मतभार १९ कायम गरिएको छ ।
यसैबीच राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदान गर्न चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी तथा उपमेयर बसन्ती श्रेष्ठ मतदान केन्द्र बागमती प्रदेशको राजधानी पुगेका छन् । नगरप्रमुख गिरी तथा उपप्रमुख श्रेष्ठ बुधबार मतदान केन्द्र तर्फ प्रस्थान गरेको चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।














