चन्द्रागिरि नगरमा सुरु भयो ढक तराजु जाँच शिविर, फागुन २१ गतेसम्म शिविर सञ्चालन हुने

Thankot Times

थानकोट ।

बुधबारबाट चन्द्रागिरि नगरपालिका क्षेत्रमा चन्द्रागिरि नगर उद्योग वाणिज्य संघको सहयोगमा ढक तराजु दर्ता तथा नविकरण शिविर सुरु भएको छ ।

बुधबार चन्द्रागिरि नगरपालिका-४ थानकोटबाट सुरू भएको सो शिविर बिहीबार चन्द्रागिरि नगरपालिका सतुगंलस्थित बुद्ध मन्दिर (लाछी टोल) सञ्चालन हुने नगरको आर्थिक विकास शाखाले जनाएको छ। 

शिविर फागुन २१ गतेसम्म जारी रहनेछ ।

शिविर अन्तर्गत शुक्रबार दहचोकस्थित चाैपाया खरिद बिक्री केन्द्रमा ढक तराजु जाँच हुने छ भने फागनु २० गते तीनथानास्थित विष्णुदेवी मन्दिर परिसरमा ढक तराजु जाँच हुनेछ ।
शिविरको अन्तिम दिन फागुन २१ गते सोमबार चन्द्रागिरि नगरपालिकाको कार्यालय बलम्बुमा सो शिविर सञ्चालन हुने तालिका रहेको छ ।

नेपाल गुणस्तर तथा नापताैल कार्यालयसँग समेतको सहकार्यमा सो शिविर सञ्चालन भइरहेको बताइएको छ ।

ढक तराजु परीक्षणका क्रममा व्यापारी, व्यवसायीहरूले नागरिकता प्रमाणपत्रको छायाँप्रति, उपलब्ध भएमा व्यवसाय दर्ता प्रमाणपत्रको छायाँप्रति समेत संलग्न गर्नुपर्नेछ । साथै, ढक तराजु खरिद गरेको ३५ दिन नकटेको अवस्थामा सो को बिल तथा कटेको अवस्थामा ढक तराजु अनिवार्य रूपमा शिविरमा लानुपर्ने बताइएको छ ।

आम उपभोक्ताहरूको दैनिक जीवनयापनमा प्रत्यक्ष सरोकार राख्ने विषयसमेत रहेको हुँदा ढक तराजुको गुणस्तर जाँचको कार्यक्रम राखिएको चन्द्रागिरि नगरपालिका उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठले जानकारी दिनुभयो । उहाँले ढक तराजुको दर्ता नविकरणले उपभोक्ताले गुणस्तरीय तथा उचित परिणाममा माल सामान खरिदको अधिकार थप सुरक्षित हुने बताउनुभयो ।

यसपछि ढक तराजु दर्ता एवं नविकरण नगरी प्रयोगमा ल्याएको पाइएमा कानुनबमोजिम कारबाही हुने नगरपालिकाले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *