सतुगंलमा प्रहरी भ्यानबाट खसेर सहायक हवल्दारको मत्यु घटनामा प्रहरीविरुद्ध नै दर्ता भयो मुद्दा

Thankot Times

थानकोट ।

नेपाल प्रहरीका सहायक हवल्दार हेमराज एलजीको प्रहरीकै भ्यानबाट खसेर मृत्यु भएको घटनामा चालक सहायक हवल्दार रामप्रसाद यादवविरुद्ध सवारी ज्यान मुद्दा दर्ता भएको छ। गत माघ १५ गते राति मोबाइल ड्युटीमा खटिएका एलजीको मृत्यु भएको थियो।

सुर्खेतको गुर्भाकोट नगरपालिका-१२ का एलजीको दरबन्दी इलाका प्रहरी कार्यालय अरछाने जाजरकोटमा थियो। तर उनी प्रहरी प्रभाग बलम्बुमा कार्यरत थिए।

३५ वर्षीय एलजी बलम्बु प्रहरी कार्यालयको बा १ झ ७४१८ नम्बरको प्रहरी भ्यानबाट खसेका थिए। ड्युटीको क्रममा नैकापबाट प्रहरी कार्यालय बलम्बुतर्फ आउने क्रममा राति सवा ११ बजे भ्यानबाट उनी खसेका थिए। त्यसपछि उपचारका लागि मेड पोइन्ट अस्पतालमा लगिएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि उनलाई एपीएफको बलम्बुस्थित अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।
चालक यादवविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। मृतक सहायक हवल्दार एलजीकी श्रीमती पनि नेपाल प्रहरीमै जवानको रुपमा मकवानपुरमा कार्यरत थिइन्। श्रीमानको मृत्युपछि बेहोस भएर अस्पताल भर्ना भएपछि एलजीका दाजु जसबहादुर विश्वकर्माले प्रहरीमा जाहेरी दिएका थिए।

घटना शंकास्पद रहेको भन्दै जसबहादुरले उक्त भ्यानमा रहेका असईसहित रमेश चौलागाईंसहित ६ जनाविरुद्ध अनुसन्धान गरी कारबाही गरी पाउँ भन्दै जाहेरी दिएका थिए। यता प्रहरीले भने अनुसन्धान गरेर घटनामा चालक सहायक हवल्दार यादव दोषी रहेको भन्दै उनलाई मात्रै प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा सहायक हवल्दार यादवविरुद्ध मुद्दा दायर भएको छ।

यादवविरुद्ध सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा (३) बमोजिमको कसुर गरेको भन्दै सोही अनुसार सजाय मागदाबी गरिएको छ। दफा १६१ को उपदफा (३) बमोजिमको कसुर गर्नेलाई १ वर्षसम्म कैद वा २ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *