चन्द्रागिरि नगरका करिब ८ हजार जना बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य

Thankot Times

थानकोट ।

संघीय सरकारले बैशाख आजबाट बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने राष्ट्रिय अभियान सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचना जारी गर्दै बैशाख ६ र ७ गते (आज र भोलि) भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरेको हो ।

सो कार्यक्रममा खोप लगाउन छुटेको बालबालिकालाई खोप पनि लगाउन मन्त्रालयले अनुरोध गरेको छ ।

नियमित खोप लगाउन नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयको आग्रह छ ।

खोपले रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने हुँदा सबै बालबालिकालाई नियमित खोप लगाउनसमेत मन्त्रालयले उल्लेख गरेको छ । सोही अभियान अन्तर्गत चन्द्रागिरि नगरका सबै वडाहरूमा बालबालिकालाई भिटामिन  ‘ए’ तथा जुकाको औषधि खुवाउने क्रम जारी छ । यो अभियान भोलि शुक्रबार पनि जारी रहने चन्द्रागिरि नगरपालिकाले जनाएको छ। कार्यक्रममा भिटामिन ‘ए’ क्याप्सुल ६ महिना देखि ५९ महिनाका बालबालिका र जुकाको औषधि १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई खुवाइँदैछ ।

चन्द्रागिरि नगरपालिका स्वास्थ्य शाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतोले यसपटक करिब ७७८७ बालबालिकालाई भिटामिन ‘ए’ र ६८६३ बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य रहेको जानकारी दिनुभयो।
यसका लागि शाखाले नगरपालिकाका १५ वटै वडामा १४९ स्वयंसेविका एवं स्वास्थ्यकर्मीलाई परिचालन गरिरहेको छ ।
गत कात्तिक महिनामा सञ्चालित भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत नगरपालिका भित्रका करिब ९५७६ बालबालिकालाई भिटामिन ‘ए’ र ८६९६ बालबालिकालाई जुकाका औषधि खुवाइएको थियो।
चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आफ्ना बालबालिकालाई पायक पर्ने ठाउँमा लगेर भिटामिन ए र जुकाको औषधि खुवाउन अभिभावकलाई आह्वान गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *