काठमाडाैं जिल्लामा थानकोटमा मात्रै औंलो रोगका संक्रमित भेटिए

Thankot Times

थानकोट । 

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडाैंले जिल्लाका स्थानीय तहहरू मध्ये चन्द्रागिरि नगरमा मात्रै औंलो रोगका बिरामी देखिएको जनाएको छ ।

विश्व औलो दिवसका अवसरमा बिहीबार आयोजित एक अन्तर्क्रिया कार्यक्रममा जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रविना कर्माचार्यले चन्द्रागिरि नगरपालिका-४ बाहेक काठमाडौँका कुनै पनि वडा औलोका जोखिम नभएको बताउनुभयो । “चन्द्रागिरि नपा-४ मा एक दुई वटा औलोका बिरामी देखिएर केही जोखिम भएको छ”, उहाँले भन्नुभयो, “ती वडाको कूल जनसङ्ख्याको ५ प्रतिशत जनसङ्ख्या अलि केही जोखिममा हामीले राखेको छौँ । यद्यपी यो डराइहाल्नु पर्ने अवस्था भने हैन् ।”

काठमाडौं जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा १३ जना, २०७९/८० मा १७ र  २०८०/८१ मा पनि १७ जनामा औंलोका बिरामी देखिएको उहाँको भनाइ छ ।

यस्तै कोशी प्रदेशमा १३ जना, मधेस प्रदेशमा ७५ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा २०, लुम्बिनी प्रदेशमा दुई सय ३३, कर्णाली प्रदेशमा २८ र सुदूरपश्चिम प्रदेशमा एक सय ७६ जनामा औलो देखिएको छ ।

औलो एनोफिलिज जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट हुने एक प्रकारको सरुवा रोग हो । औलो लागेको व्यक्तिलाई लामखुट्टेले टोक्दा रगतसँगै औलोको परजीवी चुस्दछ र लामखुट्टे सङ्क्रमित हुन जान्छ । त्यसता सङ्क्रमित लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा औलो सर्दछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *