बागमतीका हरेक स्थानीय तहमा एक-एक वटा गाैरवको आयोजना सञ्चालन गरिनेछ-मुख्यमन्त्री लामा
थानकोट ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेशका सबै स्थानीय तहमा एक-एक वटा गाैवरको आयोजना सञ्चालन गरिने बताउनुभएको छ ।
शनिबार चन्द्रागिरि नगरपालिका-१० सतुङ्गलमा बागमती प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठको सचिवालयले आयोजना गरेको बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा मुख्य मन्त्री लामाले सो धारणा राख्नुभएको हो ।
प्रदेशका ११९ वटै स्थानीय तहमा प्रदेश सरकारबाट गाैरवका योजना, आयोजना सञ्चालन गर्न सके प्रदेशको उपादेयता थप सुदृढ हुने उहाँको भनाइ थियो ।
बागमती प्रदेश सरकारका सबै मन्त्रालयले हरेक जिल्लामा कम्तीमा एक-एकवटा गाैरवको योजना सञ्चालन गर्न प्रदेश सरकारका मन्त्रीहरूलाई निर्देशन दिइसकेको बताउनुहुँदै मुख्य मन्त्री लामाले प्रदेश सरकारले सञ्चालन गर्ने योजना भनी अपनत्व लिने वातावरण बनाउन आफु लागिपरेको धारणा राख्नुभयो । जसका लागि सबै मन्त्रीहरूसँग करारनामा नै गरिएको उहाँको भनाइ छ ।
अर्को प्रसङ्गमा मुख्यमन्त्री लामाले चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र बागमती प्रदेश सरकारबाट सञ्चालन हुने योजनाहरूका सन्दर्भमा नगर प्रमुख तथा वडाध्यक्षहरूसँग निरन्तर समन्वय भइरहेको बताउनुभयो ।
प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन ऐनमै व्यवस्था गरिएको बताउनुहुँदै प्रदेश सरकारका लागि नीति बनाउन चाहिने ऐन कानुन बनाउन प्रदेश सरकार लागिरहेको धारणा राख्नुभयो ।
सो कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेश सरकारका बिना विभागीय मन्त्री मधुकुमार श्रेष्ठले प्रदेश सरकारले आफुलाई छिट्टै विभागीय जिम्मेवारी दिनेमा विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रममा संघीय सांसद् राजेन्द्रकुमार केसी, प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठ, पुकार महर्जन लगायतले संक्षिप्त मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा संघीय सांसद् राजेन्द्र कुमार केसी, बागमती प्रदेशका मन्त्री मधुकुमार श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठ, पुकार महर्जन, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, नेपाली काँग्रेस काठमााडाैं क्षेत्र नं. १० प्रदेश ख का सभापति धर्मनन्द श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
२०८१ साउन ८ मा लामा बागमती प्रदेश सरकारको मुख्य मन्त्रीमा नियुक्त हुनुभएको हो ।
मुख्यमन्त्री नियुक्त हुँदा उनलाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको छ ।










