चन्द्रागिरि नगरमा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा, रोकिएका फाइलको भुक्तानी धमाधम
थानकोट ।
गत असार १० मा चन्द्रागिरि नगरपालिका नगर सभाले पारित गरेको आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनमा आएको छ ।
चालु आर्थिक वर्षका लागि चन्द्रागिरि नगरपालिकाले कुल २ अर्ब ९३ करोड ९५ लाख रुपैयाँको बजेट पारित गरेको थियो ।
नगर सभाको १८औ अधिवेशनको दोस्रो बैठकले पारित गरेको सो बजेट अ-वास्तविक र कार्यान्वयनयोग्य नरहेको भन्दै नेकपा एमालेका जनप्रतिनिधिले असहमति जनाएका थिए ।
चालु वर्षमा चन्द्रागिरि नगरले १ अर्ब ४५ करोड १३ लाख रुपैयाँ आन्तरिक आय संकलन गर्ने लक्ष्य लिएको छ।
यस्तै, राजस्व बाँडफाँटबाट ५९ करोड ३३ लाख रुपैयाँ, प्रदेश सरकारको सवारी साधन करबाट ७ करोड ३३ लाख रुपैयाँ, नेपाल सरकारको मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कबाट १४ करोड ४४ लाख रुपैयाँ र स्थानीय राजस्व बाँडफाँटबाट ३७ लाख ५४ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।
त्यसैगरी नेपाल सरकारबाट वित्तीय हस्तान्तरणअन्तर्गत २१ करोड ७३ लाख रुपैयाँ समानीकरण अनुदान, ५२ करोड ४० लाख रुपैयाँ सशर्त अनुदान तथा ५ करोड ५८ लाख रुपैयाँ विशेष अनुदान प्राप्त हुने अनुमान गरिएको छ। प्रदेश सरकारबाट २ करोड २७ लाख रुपैयाँ समानीकरण अनुदान प्राप्त हुने प्रक्षेपणसहित बजेट निर्माण गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले आगामी चालु आवमा प्रचलित करका केही दायरा तथा दररेटमा समेत परिमार्जन गरेको छ।
तस्बिर, मेयर घनश्याम गिरी चन्द्रागिरि नगरको आर्थिक वर्ष २०८३/८४ को बजेट पुस्तकमा दस्तखत गर्दै ।













